१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढी तथा डुबानबाट बच्न धनगढीमा नगर प्रहरीलाई वाटर रेस्क्यु सम्बन्धी प्रशिक्षण


416
Shares

कैलाली । बाढी तथा डुबानबाट प्रभावित हुने गरेको धनगढी उप–महानगरपालिकाले आफ्नै प्रहरीलाई उद्धारका लागि तयार पार्न लागेको छ । वर्षायाममा जलमग्न हुने धनगढी उपमहानगरले आफ्ना नागरिकको उद्धारका लागि नगर प्रहरीहरुलाई वाटर रेस्क्यु सम्बन्धी प्रशिक्षण दिएको हो ।

हरेक वर्षायाममा डुवान र कटानको समस्या भोग्दै आएको धनगढी उप–महानगरपालिकाले बाढी प्रभावितको उद्धार र खोजतलासका लागि आफ्ना प्रहरीहरुलाई प्रशिक्षण दिएको छ । जल उत्पन्न प्राकृतिक प्रकोपको जोखिममा परेकालाई उद्धार गर्न उप–महानगरले कैलालीको गोदावरी नगरपालिका– २ अत्तरियामा रहेको लामितालमा नगर प्रहरीलाई वाटर रेस्क्यु प्रशिक्षण दिएको हो ।

रेस्क्यु प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा २५ जना नगर प्रहरीको सहभागिता रहेको छ । उपमहानगरपालिकाको विपत व्यवस्थापन शाखाका प्रमुख दिपक भण्डारीले नगरप्रहरीलाई पहिलो पटक वाटर रेस्क्यु प्रशिक्षण दिइएको बताउनुभयो । उहाँले डुबान र बाढीको पूर्वतयारी स्वरुप नगर प्रहरीलाई तालिम दिइएको बताउनुभयो । नगरमार्फत जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीलाई पनि उद्दारका सामाग्री हस्तान्तरण गरिएको प्रमुख भण्डारीले बताउनुभयो ।

धनगढी उपमहानरपालिकालाई युएडीपीको सुपर परियोजनाले ३६ लाख ९७ हजार रुपैयाँ बराबरका उद्धार सामग्री उपलब्ध गराएको छ । जसमा लाइफ ज्याकेट, स्ट्रेचर, सेफ्टी बेल्ट, चेन कटर लगायतका सामाग्री रहेका छन् । धनगढी उपमहानगरपालिकाका नगर प्रहरी नायव निरिक्षक कृष्ण मल्लले विपत व्यवस्थापन तालिमले बाढी र डुबानमा उद्धार गर्न सहज हुने बताउनुभयो ।

नगर प्रहरीलाई अत्तरियामा रहेको लामितालसँगै बगिरहेको पानीमा प्रशिक्षण गराउन मोहना नदीमा पनि लगिएको छ । उद्धार प्रशिक्षण सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीमा दिइएको हो ।