२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


सन्यासी र दशनामीको पवित्र स्थल ‘दत्तात्रय मठ’ संकटमा


2.067k
Shares

काठमाडौं । पाटन विभिन्न धार्मिक कला संस्कृतिको ललितकलाले परिपूर्ण रहेको छ । यस मध्ये कलात्मक दत्तात्रय भगवानको मठमन्दिर पनि एक हो । संरक्षणको अभावमा तीन सय वर्ष पुरानो यो सम्पदा संकटापन्न अवस्थामा पुगेको छ ।

विश्व सम्पदा सूचिमा सूचिकृत पाटन दरवार क्षेत्र समेत रहेको यल ललितकलामा धनी प्राचिन शहर हो । ललितकला र संस्कृतिले भरिएको दरवार क्षेत्र नजिक तीलाक्व टोलमा दत्तात्रय भगवानको सिगिंरी मठ रहेको छ । ब्रम्हा, विष्णु र महेश्वर त्रिदेवहरुको संयुक्त रुप दत्तात्रयको मूर्ति रहेको मठ करिब ३ सय वर्ष पूरानो रहेको छ ।

यो मठमन्दिर संन्यासी र दशनामीको पवित्र स्थल हो । तर, कलात्मक मठ संरक्षणको अभावमा अस्तित्वहीन हुने अवस्थामा पुगेको छ । विभिन्न समयमा मठमन्दिरको छानो समेत छेकिने गरी घर निमार्ण भएको जोकोहीले देख्न सक्छन । मठमन्दिरको कलात्मक काष्ठकला समेत नामेठ हुने अवस्थामा पुगेको छ ।

पुरातात्विक र ऐतिहासिक महत्वको यस्तो महत्वपूर्ण मठमन्दिर नष्ट हुने संघार पुगेपनि संरक्षणमा कसैको ध्यान गएको छैन । गत वर्ष सरोकारवाला, पुरातत्व विभाग र ललितपुर महानगर पालिकाबीच दत्तात्रय मठ जिर्णोद्धारको विषयमा सहमति भएपनि काम हुन सकेन । हाल मठमन्दिर रेखदेख गरिरहेको रुपेन्द्र पुरी दत्तात्रय मठ निजी गुथी अन्तर्गत रहेको दाबी गर्नुहुन्छ ।

मन्दिरको अस्तित्वमाथि नै प्रश्न उठ्ने गरी वरिपरि घर संरचना निमार्ण भएको देखिन्छ । यस्तो संरचना मठमन्दिर कै सुरक्षाका लागि भएको पुरीको तर्क छ । मठमन्दिर जिर्णोद्धार गरि संरक्षण गर्नुपर्ने रुपेन्द्र पुरी बताउनुहुन्छ । नेपाल त्यसैपनि धार्मिक, सामाजिक, सांस्कृतिक र इतिहासको संग्रहालय हो । देशकै साख बोकेको राजधानीका यी विविधताको सुरक्षामा हुने हेलचेक्रयाइँ कुनै दृष्टिले पनि क्षम्य छैन ।