
काठमाडौं । सुनका गहना गलाबाट लुछ्ने मात्र होइन, त्यसका लागि उपयोग गरिएको मोटरसाइकलसमेत चोरीकै उपयोग गर्ने रहस्य खुलेपछि प्रहरी नै हैरान बनेको छ । चाडपर्व बाक्लिँदै जाँदा गरगहना लाउने प्रतिस्पर्धा नगर्न सचेत गराउँदै प्रहरीले अब चोरले भीडभाड नभएर एकान्त रोज्ने गरेको जनाएको छ ।
झकिझकाउ गहना लगाएर कुनै समारोहमा जाने सोचमा हुनुहुन्छ भने तपाईं आफ्नै घरआँगन र टोलमा लुटिन सक्नुहुन्छ । लाखौं मूल्य पर्ने मोटरसाइकलमा आउने लुटेराले केही सेकेण्डमै लाखौंको गहना लुटेर तपाईंलाई निरीह सावित गरिदिन सक्छन । गुहार लगाउँदा चोरले तीन डाँडा काटिसकेको हुने छ । एउटै लुटेरा समूहले २० दिनभित्र उपत्यकाको विभिन्न स्थानमा मर्निङ्ग वाकको लागि हिँडेका महिलाले लगाएको सुनको सिक्री लुटेर भाग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चोरको चलाखी यतिसम्म हुने गरेको छ कि उनीहरुले एकान्तस्थलमा आफ्नो काम तमाम गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा.मनोज केसी बताउनुहुन्छ ।
एक दसकअघि सिक्री चोरको आतंक देखिएकोमा अहिले फेरि दोहोरिएको छ । तर, लुट्ने शैलीमा आएको परिवर्तनले भने प्रहरीलाई नै चकित बनाएको छ ।
प्रहरीले केही दिनअघि काठमाडौंको हाँडिगाउँ बस्ने रबिन दमाइको एउटा गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । यो गिरोहले लुट्ने शैली नयाँ थियो । पहिला पहिला एकजनाले लुटने गरेकोमा अहिले दुईजना सक्रिय हुने गरेका छन । यसक्रममा उनीहरुले पटकपटक रेकी गर्ने गरेका छन् । घटनामा अधिकांस चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गर्ने गरिएको छ ।
ललितपुरमा पनि यसखाले प्रकोप व्यापक बन्दै गएको छ । यो समूहले दिउँसो बच्चालाई स्कुल पठाउन जाने र स्कुलबाट लिएर फर्दै गरेका महिलाहरुलाई निशाना बनाउने गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख सिद्धिविक्रम शाहले बताउनुभयो ।
घट्ना भएपछि रोइकराई गर्नुभन्दा सचेत भएर परिस्थितिको मूल्यांकन गरी चल्नु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्