
इलाम । इलामको माङसेबुङ्ग गाँउपालिका १ र २ जोड्ने फेवा खोलामा पक्की मोटरेबल पुल नहुँदा समस्या भएको छ । गजुरमुखी र इभाङ्ग जोड्ने खोलामा पुल नबन्दा हिउँदमा जसोतसो सवारी वारपार गरेपनि वर्षामा भने स्थानीयले सास्ती खेप्दै आएका छन् ।
नेताले जितेर गए । तर, माङसेबुङ्गलाई चटक्कै बिर्सिए । चुनाव लाग्ने लाग्ने बेला आउछन् तर जितेर गएपछि फरक्क फर्केर सम्म हेर्देनन् । त्यसैले पनि अहिलेसम्म यहाँका समस्या ज्यूका त्युँ भएको दुखेसो छ यहाँका बासिन्दाको । वर्षौदेखि फेवा खोलामा पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीय ठाकुर प्रसाद गड्तौलाको गुनासो छ । पुल नहुँदा जोखिम मोलेर भएपनि स्थानीय झोलुङ्गे पुलबाट खोला वारपार गर्न बाध्य हुनु परेको छ । मोटसाइकल समेत त्यही पुलबाट घिसार्दे वारिपारी गर्नु पर्दा बुढाबुढी, केटाकेटी र महिलाहरुलाई झनै सास्ती भएको स्थानीयको भनाई छ ।
दुई वटा वडा जोड्ने गाउँ नजिकैको फेवा खोलामा पुल बनाइदिन एमाले नेता सुवासचन्द्र नेम्वाङसंग हारगुहार गरे । यहि पुल बनाइदिने आश्वासन दिँदै चुनाव पनि जिते । तर अहँ चुनाव पटकौ पटक जिते तर पुल अहिलेसम्म नबन्दा सर्वसाधारण खिन्न छन् । अहिले पनि नेम्बाङ्ग यही क्षेत्रको प्रतिनिधित्व गर्दै संसद भवनभित्र छिर्छन । तर यहाँका नागरिकको आवाज र समस्या भने त्यो संसद भवनभित्र छिर्न सकेको छैन । यहाँका नागरिक तत्कालीन जिविस, विभाग, मन्त्रालय लगायत सबैजसो सरकारी निकायदेखि हालको गाँउपालिकासम्म पुल बनाइदिन माग गर्दै डेलिगेसन गइसकेका छन् तर अहिलेसम्म पुल निर्माण हुने छाटकाँट देखिँदैन् ।

फेवा खोला वर्षातका तीन महिना तर्नै नसकिने गरी उर्लिन्छ । त्यही समय धान, कोदो रोप्न र घाँस दाउरा गर्नुपर्ने भएकोले खोला वारपार नगरी स्थानीयलाई सुखै छैन । खोला वारीपारीका गाँउका धेरै विद्यार्थी, कर्मचारी यही खोला वारपार गरेर विद्याालय, कार्यालय जानुपर्ने बाध्यता रहेको स्थानीय टिकाराम खुलालको भनाइ छ ।
यता माङसेबुङ्ग गाँउपालिकाका अध्यक्ष हेमन्त राईले पनि गाँउपालिकाले पुल निमार्णका लागि पहल गरिरहेको छ भन्ने बाहेक अरु गर्न सकेका छैनन् । यहाँका नागरिकलाई पहिलो सपना झोलुङ्गे पुलको देखाइएको थियो । अहिले मोटरेबल पुलको सपना देखाइएको छ । तर, सपना भने अहिलेसम्म अधुरै देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्