२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

इलामको सन्दकपुर खोपीखर्क सिंचाई आयोजना सम्पन्न, छ सय रोपनीमा सिंचाई सुविधा


104
Shares

इलाम । इलामको सन्दकपुर खोपिखर्क सिंचाई आयोजना निर्माण भएपछि किसानलाई सिंचाई सुविधामा सहज भएको छ । ४७ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको सिंचाई योजनाबाट ५ सय ८० रोपनी क्षेत्रफलमा हिउँद र वर्खामा नै सिंचाई सुविधा पुगेपछि किसान दंग भएका छन् ।

२० वर्ष अघि निर्माण भएको कुलो भत्किएपछि सन्दकपूर ५ जमुनाका किसान समस्यामा थिए । कृषि उपज, तरकारी र अलैची खेतीका लागि प्रयोग हुने कुलो मर्मत नहुँदा किसानले सिचाईको लागि समस्या भोग्दै आएका थिए । तर अहिले साना सिंचाई कार्यक्रमबाट कुलो पुनः निर्माण भएपछि सन्दकपूर ५ जमुनाको हाँगेथाम क्षेत्रका किसानहरुको सिंचाई समस्या हटेको छ ।

स्वीस सरकार विकास सहयोग, संघीय, प्रदेश सरकार, स्थानीय तह र उपभोक्ताको जनश्रमदानमा कुलो पुनः निर्माण भएको हो । खोपिखर्क साना सिंचाई ओजना ४७ लाख ४९ हजारमा निर्माण सम्पन्न भएको हो । सिंचाई योजना सम्पन्न भएपछि व्यवसायीक कृषि उपज उत्पादनमा सहज भएको वडाध्यक्ष यज्ञ गुरुङ्गले बताउनुभयो

सिंचाई योजनाबाट ५ सय ८० रोपनी क्षेत्रफलमा हिउँद वर्षात नै सिचाई सुविधा पुगेको छ । २ हजार ९ सय ४७ मिटर लामो पक्कि कुलो निर्माणका लागि उपभोक्ताको १० प्रतिशत, स्थानीय तह, संघीय, प्रदेश सरकारको २०/२० प्रतिशत र स्वीस सरकारको ३० प्रतिशत लगानी रहेको छ । दुई चरणमा कार्यान्वय हुँदै आएको साना सिंचाई कार्यक्रममा अन्तरगत इलाम र पाँचथरमा २० वटा सिचाई योजना सम्पन्न भएको साना सिंचाई कार्यक्रम फिक्कल कष्टरका प्रमुख केशव लामाले बताउनुभयो ।

साना सिंचाई कार्यक्रम उपभोक्ताहरु र आयोजनाबाट नियमित अनुगमन हुने भएकाले गुणस्तरीय काम हुने गरेको छ । जसले गर्दा ग्रामीण क्षेत्रका कुलोहरुको दिगोपना हुनुका साथै किसानले सिंचाई सुविधा पाएका छन् ।