२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


तीन दशकपछि पाटनका अधिकांश हितिमा पानी


12.558k
Shares

काठमाडौं । पाटन ललितकलाको धनी शहर । त्यसमाथि प्राचिन हिति प्रणाली यो शहरको अर्को अभिन्न अंग हो । प्राचीन सभ्यताको हितीमा विभिन्न कारणले पानी नआउँदा ऐतिहासिक सभ्यताको अन्त्य हुने डर त्रास थियो । तर, करिब तीन दशकपछि पाटनका करिब ९७ प्रतिशत हितिहरुबाट पुन पानी झर्न थालेपछि स्थानीय हर्षित बनेका छन् ।

हिति सभ्यता नेपालको मौलिक प्राचिन मानव निर्मित जल प्रणाली हो । हाल विश्वका विकसित भनिएका मुलुकको अस्तित्व नआउँदा नेपाल मण्डलमा सुसंस्कृत हिति सभ्यता विकास भइसकेको थियो । लिच्छवीकाल भन्दा अघि देखि विकसित भएको हिति सभ्यताले त्यस बेलाको उच्च कोटीको मानव विकासको बारेमा बुझन् सक्छौ । तर, विडम्वना समयक्रम सँगै अनियन्त्रित, अव्यवस्थित र सम्पदा मैत्री विकास हुन नसक्दा हिति सभ्यतामा पनि ग्रहण लागेको थियो ।

अनियन्त्रित बसोवास र गहिरो बोरिङ्ग को कारण हितिहरुबाट पानी आउन छोडेको थियो । अहिले करिव ३० वर्षपछि पाटनका अधिकांश हितिहरुबाट पुन पानी झर्न थालेको छ । पाटनमा रहेका ६० वटा हितिमा जम्मा २ वटा हितिमा मात्र पानी आएको छैन । ७५ वर्षिय पूर्णबहादुर तण्डुकार प्राचिन हितिहरुबाट पुन पानी आएको देख्दा खुशी हुनुहुन्छ । मेलम्चीको पानी नियमित आएपछि डीप बोरिङ्ग नगरेका कारण भुमिगत पानीको सतह बढेपछि हितिमा पानी आएको उहाँको भनाई छ ।

असार महिनादेखि मेलम्चीको पानी वितरण रोकिएको छ त्यसैले भाद्र महिनाभित्र पानी वितरण नगरिए हितिबाट पानी नआउन सक्छ स्थानीयको भनाई छ ।

शरण देवी डंगोल पनि हितिबाट पानी फालाफाल आएकोमा खुशी देखिनुहुन्छ । प्राचिन सभ्यताका हितीबाट सधै यसरी नै पानी आउने वातावरण बनाउनु पर्नेमा उहाँको जोड छ ।

पाटनको प्रसिद्ध सुनको लुँहिति र सिन्चा हिति अहिले पनि पानी आउन सकेको छैन् । यी हितिहरुको जलाधार क्षेत्र पाटन औधौगिक क्षेत्रमा दैनिक लाखौ लिटर पानी डीप बोरिङ्ग गरेर निकालेका कारण पानी नआएको स्थानीयको भनाई छ । अब बोरिङ्गंलाई रोकेर हितिको भूमिगत पानी प्रणालीलाई संरक्षण गरि पानी पुनः भरण गरिरहनु पर्ने तण्डुकारको सुझाव छ ।

मेलम्ची र वर्षायामको कारण पाटनको अधिकाशं हितिमा पानी आउनु सुखद हो । तसर्थ अब अन्य स्थानमा पनि भूमिगत पानी प्रणालीलाई संरक्षण गरेर हजारौ वर्षको हाम्रो पहिचान हिति सभ्यता र सम्पदालाई ब्युँत्याउन आवश्यक देखिन्छ ।