
नवलपरासी । केरा खेतीबाट नवलपरासीका कृषकले राम्रो आम्दानी गर्न थालेका छन् ।
उखु खेती लगाउँदै आएका नवलपरासीका कृषक केराबाट आम्दानी राम्रो हुन थालेपछि केरा खेतीतर्फ उन्मुख भएका हुन् ।
नवलपरासी जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिका केरा खेतीको पकेट क्षेत्र हो । यी क्षेत्रमा दुई हजारभन्दा बढी बिगाहामा केरा खेती हुँदै आएको छ । जसबाट २५ सय घरपरिवारले केरा उत्पादनबाट राम्रो फाइदा लिएका छन् ।
आम्दानी राम्रो हुन थालेपछि कृषकले जग्गा भाडामा लिएर खेती गर्न सुरु गरेका छन् । यहाँ उत्पादित केरा लिनका लागि नारायणगढ, पोखरा, काठमाडौं, नेपालगञ्ज, जनकपुरसम्मका व्यापारीहरु आउने गरेका छन् ।
एक बिघा क्षेत्रफलमा खर्च कटाएर ५ देखि ६ लाख रुपैयाँसम्म कृषकले आम्दानी गर्ने गरेका छन् । केरा बिक्री राम्रो हुने गरेपनि उधारोमा लगेका व्यापारीहरुसँग रकम उठाउन नसक्दा भने समस्या भएको कृषकको गुनासो छ ।
बोट लगाएको १२ देखि १५ महिनामा केरा बिक्रीका लागि तयार हुन्छ । एकपटक लगाएपछि चार पटकसम्म फसल लिन सकिने भएकाले पनि कृषक केरा खेतीतर्फ आर्कषित भएका हुन् । पहिले दर्जनको हिसाबले केरा बिक्री गर्दै आएका कृषकले अहिले तौलमा बिक्री गर्न थालेका छन् । निश्चित दर रेट कायम हुन नसक्दा कृषकले आफूखुशी मूल्य तोकेर केरा बिक्री गदै आएका छन् । स्थानीय सरकारले भएपनि केराको न्यूनतम समर्थन मूल्य तोक्नु पर्ने केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादवको भनाइ छ ।
जिल्लाको दक्षिणी क्षेत्र केरा उत्पादनको पकेट क्षेत्र भएपछि स्थानीय, प्रदेश र संघ सरकारले ब्लक, पकेट र जोन क्षेत्र छुट्टाएर कार्यक्रम सञ्चालन गरेका छन् । कार्यक्रम अन्तरगत भर्मि कम्पोष्ट उद्योग स्थापना, सिंचाइ पूर्वाधार, चक्लाबन्दीमा आधारित खेती र केरा क्षेत्रफल विस्तार कार्यक्रम सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालयका वरिष्ठ कृषि अधिकृत नारायण काफ्ले बताउनु हुन्छ ।
केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएका नवलपरासीका कृषकलाई थप व्यावसायीक बनाउन र केरालाई उद्योगसँग जोड्न सरोकारवाला निकायले पहल गर्न आवश्यक देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्