
काठमाडौं । बर्षाका कारण विभिन्न स्थानमा बाढी पहिरो जाँदा ढुवानीमा समस्या भएपछि फलफूलको मूल्य बढेको छ । सरकारले यस अघि नै आयात गरिएका फलफूलमा मूल्य अभिवृद्धि कर लगाएका कारण बढेको मूल्य बाढीपहिरोको कारण देखाउँदै शतप्रतिशतसम्म बढेको हो ।
नेपालमा भौगोलिक हिसाबले पनि फलफूलको उत्पादन निकै कम हुने गर्दछ । फलफूलमा नेपालको उत्पादनले १० प्रतिशत मात्र धान्ने गरेको छ । विशेष गरी सिजनको बेला तीन महिना आँप र भदौदेखि ३ महिनाको अवधि केराले बजार धान्छ । त्यसमाथि ढुवानीका कारण कतिपय समयमा भारतीय केराले बर्चस्व जमाउँछ । त्यसबाहेक निकै कम नेपाली फलफूल बजारमा देखिन्छ ।
पछिल्लो समय किवी, एवोकाडो, ड्रयागन फ्रूटलगायतका केही फलफूलको व्यावसायिक खेती गर्न थालिएको छ । त्यसमा पनि प्याकजिङ ग्रेडीङ तथा ढुवानीका कारण राम्रो भाउ नपाउने समस्या रहेको छ । त्यसबाहेकको व्यावसायिक फलफूल खेतीमा आधुनिकीकरण नहुँदा फलफूलको उत्पादन नै नाजुक रहेको छ । भएको उत्पादन पनि एकै समयमा बजारमा आउने र छिट्टै सकीहाल्ने समस्या रहेको फलफूल व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँ बताउनुहुन्छ ।
पछिल्लो समय सरकारले आयातीत फलफूलमा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करका कारण फलफूलको मूल्य झनै बढेको छ । त्यसमाथि राष्ट्रिय राजमार्गदेखि देशका प्रमुख शहर जोड्ने सडक मार्ग बाढी पहिरोको चपेटामा पर्दा ढुवानीमा परेको असर बजारमा देखापरेको हो । पछिल्लो दुई महिनायता फलफूलमा २० देखि एकसय ५० प्रतिशत सम्म मूल्य वृद्धि भएको छ ।
असारको पहिलो साता २ सय ८० होलसेलमा बिक्री भएको फूजी स्याउ अहिले आएर ३ सय ५० सम्म पुगेको छ । त्यस्तै, ४० रुपैँया केजी सम्म बिक्री नभएको आँप सीजनको अन्तीम तीर आएको र ढुवानीका कारण कुहिने समस्या आएका कारण अहिले आएर १ सय ५० देखि १ सय ७० रुपैयाँ केजीसम्म पुगेको छ । यता, नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ लगाईएको मूल्य अभिवृद्धीकर र त्यसमाथि भन्सार तथा सडकमा समस्या भएका कारण उपभोक्ता थप चेपुवामा परेको फलफूल व्यवसायी संघका अध्यक्ष बानियाँ बताउनुहुन्छ ।
नेपालमा विश्वका करिब दर्जन देशबाट १३ प्रजातिका फलफूल भित्रने गर्दछन् । त्यस्तै, नेपालमा वार्षिक २२ अर्ब बढीको फलफूल आयात हुने गरेको तथ्याङक छ । हुन त कृषि क्षेत्रमा सरकारको ठूलो लगानी रहेको छ । तर, त्यसको व्यवस्थापन तथा खेतीमा आधुनिकीरण गर्न नसक्दा उत्पादनमा कमी हुनुका साथै किसान मारमा पर्ने गरेका छन् । जसको असर उपभोक्तामा पर्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्