
नवलपुर । बुटवल–नारायणगढ सडक बिस्तारको गति निराशाजनक छ । सडक निर्माण गर्न सुरु गरेको चार वर्ष बितिसक्दा समेत आधा काम पनि नगरेको ठेकेदारले फेरि दुई वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ ।
बुटवल–नारायणगढ सडक बिस्तार आयोजनाले गति लिन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ । सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट्र इन्जिनियरीङ कर्पोरेसनले सडक निर्माण गर्न सुरु गरेको ४ वर्ष ४ महिना हुँदा आधा पनि काम नगरेको ठेकेदार कम्पनीले फेरि दुई वर्ष म्याद थपको प्रस्ताव गरेको छ ।
अहिलेसम्म यस खण्डमा ४० प्रतिशत मात्रै काम भएको छ । पहिलो पटक थप भएको एक वर्षको म्यादभित्र ५० प्रतिशत काम सम्पन्न गर्ने प्रतिबद्धता गरेको ठेकेदार कम्पनीले फेरि दुई वर्षको म्याद थप प्रस्ताव गरेपछि स्थानीय समेत आक्रोशित भएका छन् । खाडल र धुलोले सडक वरपर हिँड्न सक्ने अवस्था छैन । ठेकेदारले मनोमानी गर्ने र सरकारले चुपचाप म्याद थप गर्दै जाँदा समस्या बढेको स्थानीयको गुनासो छ ।

गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर सडक पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर पश्चिम खण्ड नामाकरण गरिएको छ । १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा अघि बढेको हो ।
जङ्गल क्षेत्रमा चार लेन, दाउन्नेमा तीन लेन र बस्ती क्षेत्रमा छ लेन सडक बिस्तार गर्ने योजना छ । पूर्वी खण्डको ६५ किलोमिटरमा ४० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख इन्जिनियर राकेश झाले बताउनुभयो ।

पूर्वी नवलपरासी तर्फ एकतर्फी १४.५ किलोमिटर दूरीमा कालोपत्रेको काम भएको छ । थप गरिएको एक वर्षमा काम सम्पन्न गर्न नसकेपछि दुई वर्षको म्याद थप गर्न सरकार समक्ष प्रस्ताव गरेको चाइना स्टेटका सूचना इन्जिनियर झाले बताउनुभयो । २०७५ चैतमा काम सुरु गरेर २०७९ साउनमा निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, निर्माण सामग्रीको अभाव कारण देखाएर २०८० भदौ ११ गते सम्मका लागि म्याद थप गरिएको थियो । थप भएको समयमा पनि ५० प्रतिशत पनि काम नभएपछि पुनः दुई वर्ष म्याद थपको प्रस्ताव गरिएको छ ।
गैंडाकोटदेखि दाउन्नेसम्म १२ वटा पुलमध्ये ९ वटामा सबस्ट्रक्चरको काम सकिएको, दुई वटामा काम हुँदै र एउटामा फाउण्डेसनको काम भइरहेको छ । सडक निर्माणको कामले गति लिन नसक्दा स्थानीयले दैनिक जसो विरोध गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्