२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


पूर्णदेवीको वृद्ध शरिर जीर्ण घरमा


10.998k
Shares

काठमाडौं । करोडौंको सम्पत्ति भएपनि घरमा हुने पारिवारिक झैझडा र कलहले मानिसलाई कतिसम्म दयनीय र जर्जर अवस्थामा पुर्‍याउँछ भन्ने देशकै व्यापारिक केन्द्र न्युरोड बसोबास गर्ने आठ दशक उमेर काटेकी एक ज्येष्ठ नागरिकको जीवनकामा आएकोका कायाकल्पले देखाउँछ ।

भाग्यले दिने, कर्मले ठेल्ने सत्य यतिबेला ८२ वर्षीया अविवाहित पूर्णदेवी मानन्धरको जीवनमा मेल खाएको छ । कुनैबेला रुप थियो, धन थियो, घरपरिवार, इष्टमित्र सबै थिए । अभाव थिएन, त्यो भन्दा पर भविष्यमा संकटले घेर्ला भन्ने पनि लागेन । अभाव नभएपछि तनावको प्रवेश हुने नै भएन । समयले घचेटेर अहिले पूर्णदेवीका लागि आँशु साथी भएको छ । विगतको सम्पत्ति र ऐस सिनेमा रील भन्दा फरक रहेन । आफ्ना आफन्त एकादेशका कथा बनेका छन् ।

न्युरोड टेवहालको एउटा जीर्ण घरमा घरजस्तै शारीरिक र मानसिकरुपमा कमजोर पूर्णदेवीले दिन कटनी गरिरहेकी छन् । अरुलाई दान दिने फराकिलो मन र धन दुवै भएको पारिवारिक विरासत बोकेकी उनी अहिले अरुको दान दातव्यमा चलेकी छन् । समयको चक्र यस्तो प्रतिकूल अवस्थामा आउनु पछाडि वियोगान्तका थुप्रै श्रृंखला छन् । जन्म दिने बाबु सानैमा बिते । आमाको स्नेह गुमेको ४ दशक भयो । त्यसपछि दाइ, भाइले पनि बाआमाले समातेको बाटो पक्रिए । कालान्तरमा पूर्णदेवीले न राम्रो स्वास्थ्य पाइन, न पालनपोषण नै ।

मानसिक अवस्था खस्कँदै गएपछि दैनिक जीवनबाट विरक्तिदै गएकी छन् । न राम्रो लाउने रहर, न मीठो खाने जाँगर, न नातागोतासँग रमाउने तिर्खा नै । शारीरिक अवस्था जीर्ण छ । सुत्ने ओछ्यान र कोठा मुसाको खोर बनेको छ । माकुराको जालोले साम्राज्य खडा गरेको छ । ननुहाएको कति भयो ? हेक्का छैन । विस्मृतिले ग्रस्त बनाएपछि आफ्नो शरीरमा ध्याउन पुर्‍याउने होस पनि छैन । आखिर यो अवस्था कसरी आयो त ? पारिवारिक मेल र बेमेल बीचको सानो धर्सोको फरकले मान्छेको जीवनमा यतिका विधि परिवर्तन ल्याउने रहेछ ।

कसैले दिएको भात समेत नखाने यिनी कहिलेकाहीं सकी न नसकी चिया पकाए खान्छिन । आक्कलझुक्कल घरबाहिर त निस्किन्छिन तर घुलमेल हुने रुचि पटक्कै छैन । काठमाडौं वडा नं २२ नम्बर वडा कार्यालयले उनको यस्तो अवस्था देखेर आफन्त र हकदारलाई सार्वजनिक सूचना समेत निकालेको थियो । तर अहँ कोही अघि सरेर आएन । बरु संकटा क्लबकी उपाध्यक्ष नलिनीदेवी सिंह पूर्णदेवीका लागि अहिले सहारा बनेकी छन् ।

स्थानीय टोलवासी, क्लब र वडाले उनको हेरचाह, स्वास्थ्य उपचारमा सक्रियता देखाउँदै आएका छन् । वडा सदस्य चन्द्रमान तुलाधरले उनका नातेदार भए स्वामित्व लिन पुन अपिल गर्नुभएको छ ।

पारिवारिक बेमेलका कारण यस्तो अवस्थामा आउन बाध्य पूर्णदेवी एउटी उदाहरण भएपनि धेरै परिवारको जीवन कथा हो यो । परिवारिक तागत नहुँदा जीवनको आयतन कसरी खुम्चिन्छ भन्ने शिक्षा सबैले ग्रहण गर्नु आवश्यक छ ।