१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


साउनका श्रृंगारमा मन्दी, कुनै दिन बोहनीसमेत नहुने गरेको व्यापारीको गुनासो


11.674k
Shares

काठमाडौं । आर्थिक मन्दीको असर हरेक क्षेत्रमा परेको छ । साउन महिनालाई चुरा, पोते,मेहन्दी लगायतका श्रृंगारका सामानको सिजनका रुपमा लिइन्छ । तर यहि व्यवसायमा सिजनको बेलामा पनि ब्यापार छैन । कुनै समय भ्याइ नभ्याइ हुने व्यापार अहिले दिनभर ग्राहक कुरेर बसेका व्यापारीले कुनै दिन बोहनीसमेत नगरी पसल बन्द गर्नुपरेको तीतो अनुभव सुनाउँछन् ।

साउन महिना सुरु भएदेखिनै बजारका श्रृंगारका सामग्री बिक्री गर्ने पसलहरु चुरा तथा पोतेमय हुन्छन् । साउनमा हरियो, रातो तथा पँहेलो चुरा, पोतेलगायतका सामग्रीको माग उच्च रहने गर्दछ । व्यापारीहरुले साउनलाई लक्षित गरेर चुरा र पोतेमा छुट्टै लगानी गरेका हुन्छन् । विशेष गरी साउनलाई लक्षित गरेर बजारमा ल्याइएका सामग्रीहरु अरु महिनामा बिक्री नहुने हुँदा जोखिम हुने गर्दछ । व्यापारीहरु पनि सजग भएर लगानी गर्ने गर्दछन् । तर यो वर्ष साउन महिनाको व्यापारदेखि व्यापारी असन्तुष्ट देखिएका छन् । विगतको तुलनामा ५० देखि ७५ प्रतिशतसम्म व्यापार घटेको व्यापारीको गुनासो रहेको छ । लगानी नै उठ्न नसकेको र सामग्रीहरु पनि एक वर्ष सम्मकालागि थन्क्याएर राख्नुपर्ने भन्दै उनीहरु निरास भएका हुन् ।

साउनको सुरुवातका केही दिनमा केही व्यापार भएपछि आजभोली बोहोनी हुन समेत नहुने व्यवसायीको अनुभव छ । काठमाडौंमा श्रृंगारमा सामग्री व्यापार गर्दै आएका ईस्याद खान यो वर्ष आएको सामानको डिजाइन अर्काे वर्ष उपभोक्ताले मन नपराउने र नयाँ डिजाइन रोज्ने भएकाले व्यापार नहुँदा ठूलो घाटा ब्यहोर्नुपर्ने अवस्था आएको बताउँछन् । काठमाडौकै अर्का व्यवसायी साहिल खान पनि विगतमा जस्तो व्यापार हुन छोडेको बताउँछन् ।

साउनलाई हरियो महिनाको रुपमा लिइन्छ । हरियो पोशाकसहित चुरा, मेहन्दी र पोते प्रति महिलाको आकर्षण हुन्छ । विवाहित महिलाले सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवती पनि आर्कषण र रमाइलोका लागि हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउने गर्दछन् । बजारका कस्मेटीकमा पसलहरु साउन सुरु हुनु अघिदेखि नै हरिया चुरा र पहिरन सजाएर राख्ने गरिन्छ । उपभोत्ताहरुमा पनि साउन महिना भगवान शिवको आरधना गर्ने महिना भएकाले शिवलाई हरियो मनपर्ने विश्वासका साथ हरियो पहिरनलाई प्राथमिकता दिने गरेको बताउँछन् ।

साउनमा लगाईने पहिरन पर्यावरणसँग पनि जोडिएको छ । साउनमा प्रकृति र पोशाकको तालमेल हुन्छ । आर्थिक मन्दीको असर सबै क्षेत्रमा परीरहेको बेलामा साउन महिनालाई लक्षित गरेका व्यापारीको लगानी भने जोखिममा परेको छ । कोरोनाको समयदेखि व्यापार व्यवसायमा परेको असर अझै सामान्य हुन सकेको छैन ।