१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


१३ बर्षीय बिधानको अवस्था अझै अज्ञात, प्रहरी र परिवार अहोरात्र खोज्दै


7.449k
Shares

काठमाडौं । साउन ७ गते सामाखुशी खोलामा खसेर बेपत्ता १३ बर्षीय बालक बिधान आलेमगरको कुनै अत्तोपत्तो छैन ।

खोलामा खसेको केहीबेरमै खोजी कार्य शुरु गरेको नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली चार ठाउँ केन्द्रित गरी उद्धारमा लाग्दासमेत हालसम्म कुनै खुटखबर पाउन सकेको छैन । न लास, न सासको अवस्थाले परिवार ब्याकुल बनेको छ ।

नेपाल प्रहरीको समन्वयमा सशस्त्र प्रहरीको गोताखोर टोलीले बिहान ४ देखि बेलुकी ८ बजेसम्म खोजी गर्ने गरेको छ । प्रहरी टोलीहरु बालक खसेको स्थान रानीबारीस्थित एनसीएमटी कलेज नजिकदेखि शोभा भगवती, बल्खु र चोभारसम्म अहोरात्र खटिइरहेका छन् । विधान खसेको ठाउँको केही मिटरमा ढलानले खोला छोपिएकाले खोजीमा कठिनाई आएको उद्धारकर्मी बताउँछन । छोरा खसेदेखि नै उद्धार टोलीसंग हिँड्ने गरेका विधानका बुबा मनोज आलेमगर भने आफ्नो छोराको अज्ञात अवस्थाले विक्षिप्त भएका छन् ।

घटना र उद्धारबारे स्मरण गर्दै बिधानका हजुरबुबा दुर्गा मेघालय मगर भने अब आफ्नो नाति जिउँदो भेटिनेमा कम आशावादी छन् । उनी आफ्नो नाती असाध्यै असल रहेको बताउँछन् ।

व्यस्त सडक मानिने ठाउँमा साउनको भेलमा बालक कसरी बगे त ? घटनाको प्रत्यक्षदर्शी शान्ति कँडेलका अनुसार आफूहरु गफ गरेर बसिरहेको अवस्थामा एक्कासी के खसेको हो भन्दा भन्दै बच्चा खसेको भन्ने थाहा भयो । खोला र सडकमा भेल बगेकाले तत्काल कोही जान सक्ने अवस्था नभएकोे र बिधानकै साथीले मेरो साथी खस्यो भन्दै चिच्याउन थालेपछि कसैले प्रहरीलाई खबर गरे, मानिसहरु जम्मा हुन थाले अनि परिवारका सदस्यलाई घटनाबारे जानकारी भयो । केहीबेरमै प्रहरीबाट बिधानको खोजी कार्य शुरु भयो ।

बालकको खोजीमा उद्धारटोलीले गरेको प्रयास प्रति पीडित परिवार सन्तुष्ट छ । प्रहरीबाट सक्दो सहयोग मिलेको परिवारका सदस्य बताउँछन् ।

यसैगरी प्रहरीले हेटौंडा प्रहरीलाई खोजीका लागि सम्पर्क गरेको जनाएको छ । राजधानी शहर मानिने काठमाडौंको व्यस्त सडकमा खोलाले बगाएर जनको क्षति हुने गरेको यो पहिलो घटना भने होइन । विकासका नाममा सडक एम्बुस बनाउने परम्पराको अन्त्य गर्न सबै पक्षको तदारुकता आवश्यक छ ।