
काठमाडौं । के तपाईं काठमाडौं उपत्यकामा सवारी साधन चलाइरहनु भएको छ ? ट्राफिक प्रहरीको आँखा छलेर नियम मिचेको या तीब्र गतिमा सवारी चलाएकोमा मख्ख हुनुहुन्छ भने अब त्यो हेलचेक्र्याइँ महँगो पर्न सक्छ ।
शहरका मुख्य मुख्य ठाउँमा जडित सवारी गति मापन गर्ने यन्त्रका कारण तपाईं जुनसुकै बेला प्रहरी फन्दामा पर्न सक्नुहुनेछ ।सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले उपत्यकामा तीब्र गतिमा सवारी चलाइने सम्भावित स्थानमा काठमाडौ उपत्यका ट्राफिक कार्यालयले सवारीको गति मापन यन्त्र जडान सुरु गरेको छ । यन्त्रमार्फत आएको विवरण अध्ययन गरी तत्काल वा त्यो समय सम्भव नभए अर्को दिन सवारी साधन नियन्त्रण लिएर ट्राफिक प्रहरीले आवश्यक कारवाही प्रक्रिया अघि बढाउँने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र भट्ट बताउनुहुन्छ ।
यस प्रणालीलाई यातायात व्यवस्था कार्यालयको सवारी दर्ता रेकर्ड प्रणालीसँग जोड्न सकेको खण्डमा अझ प्रभावकारी हुन सक्ने ट्राफिक प्रहरीको भनाइ छ । यसबाट मुख्य त दुई विषयमा बढी फाइदा पुग्न सक्छ । पहिलो त सवारी चालक दुर्घटनाबाट जोगिनु, दोश्रो सडकमा ट्राफिक प्रहरी जनशक्ति कम खटाए पुग्ने हुन्छ ।

सवारी दुर्घटनाको मुख्य कारण तीब्र गतिमा सवारी हाँक्नु नै हो । तीब्र गतिको कारण हुने दुर्घटनाले सवारी चालक लगायत परिवारले ठूलो क्षती ब्यहोर्नुपर्ने हुन्छ । सवारी तीब्र गतिमा चलाउनुका कारण हुने दुर्घटनामा कि त सवारी चालकको मृत्यु हुन्छ कि त अङ्गभङ्गका कारण अपाङ्ग समेत हुने सम्भावना बढी हुन्छ । काठमाडौ उपत्यका ट्राफिक कार्यालयको तथ्यांकअनुसार आर्थिक बर्ष २०७७/७८ मा ८ सय १० सडक दुर्घटना भएकोमा १६ जनाको ज्यान गयो । यसैगरी २०७८/७९ मा ३ हजार ५४३ दुर्घटना भएको थियो । दुर्घटनामा ९० जनाको मृत्यु भएको प्रहरी रेकर्ड छ ।
अघिल्लो वर्ष तीब्र गतिले ३२ सय १९ दुर्घटना निम्तिएर ८८ जनाले ज्यान गुमाउँनु परेको थियो । मादक पदार्थ सेवन गर्नेमाथि कडा अनुगमन गरेर सवारी दुर्घटनाको क्षतिलाई न्यून गरेको ट्राफिक प्रहरीले क्यामेरा जडित यन्त्रबाट थप सफलता मिल्ने विश्वास लिएको छ । तीब्र गति, जीवनको क्षति भनेर प्रहरीले घोकाउँदै आएको पाठलाई प्रत्येक सडक उपभोक्ताले आत्मसात गर्न आवश्यक छ । सवारी साधन लिएर मानिस बाहिर निस्किएपछि घर नपुञ्जेल परिवार उसैको प्रतिक्षामा रहेको हुन्छ । सवारी चलाउँदा त्यो कुरामा ध्यान दिएर सजगता अपनाउन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्