
काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । निरन्तर व्यापार घाटा व्यहोरिरहेको नेपालले उत्पादनमूलक अर्थव्यवस्थामा जोड नदिँदा सामान्य वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्था छ । जसका कारण मुलकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार गत आर्थिक वर्षमा २१ खर्व २० अर्बको वैदेशिक व्यापार भएको छ । जुन २०७७/०७८ को तुलनामा २६.१५ प्रतिशतले बढी हो । जसमध्ये १९ खर्ब २० अर्बको आयात मात्र छ ।
विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक करोडभन्दा बढी मूल्यको टुथपिक मात्र आयात भएको छ । बाँस र काठबाट बनेका यस्ता सिन्का मुख्यतया चीनबाट भित्रिने गरेको छ । उत्पादन, प्रशोधन, प्याकेजिङलगायतका विषयमा ध्यान नदिँदा नेपालले भोगिरहेको निरन्तर व्यापार घाटालाई कम गर्न सकेको छैन ।

त्यस्तै, करीब १ करोड बराबरको कपडा झुण्ड्याउने ह्यांगर आयात भएको छ । विभागका अनुसार गत आर्थि वर्षमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा २ करोडभन्दा बढी रकम बाहिरिएको छ । जसबाट सरकारले ६७ लाख ४९ हजार बराबरको राजस्व संकलन गरेको छ ।
विभिन्न यन्त्र उपकरण तथा सवारीसाधनमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बाैं रकम मुलुकबाट बाहिरिरहेको छ । सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्ष एक अर्बभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन् ।

विभागका अनुसार गत आर्थिक वर्षमा १५ कारोड ८५ लाख बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ । त्यस बाहेक नेपालमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ । डिजेल, पेट्रोल, एलपी ग्यास, एम एस विलेट, भटमासको कच्चा तेल, सुन, मोबाइल फोन, कच्चा पाम तेललगायतका सामग्रीको आयात उच्च देखिएको छ ।
त्यस्तै, नेपालमा वार्षिक ३० हजार मेट्रिकटनको हाराहारी मात्रै उत्पादन हुने भटमासको तेल नेपालको प्रमुख निर्यातक वस्तु बनेको छ । नेपाली व्यापारीले ब्राजिल, बंगलादेश र क्यानडालगायत मुलुकबाट आयात गरेर साफ्टा सुविधा अन्तर्गत भारतमा निर्यात बढाएपछि स्वदेशमा उत्पादन नभए पनि भटमासको तेल नेपालको एक नम्बर निर्यात वस्तु बनेको हो । त्यस्तै, प्रशोधित पाम तेल उनीको गलैँचा, तयारी कपडा, फलफूलको जुस, जुटको कपडा, अलैंची सूर्यमुखीको प्रशोधित तेल सबैभन्दा बढी निर्यात हुने वस्तु हुन्छ ।

नेपाल विश्व व्यापार संगठनको सदस्य बनेर विश्व बजारमा प्रवेश गर्ने मौका पाएपनि गुणस्तरीय वस्तु तथा सेवा उत्पादन गरी निर्यात गर्नेतर्फ खासै ध्यान दिएको छैन । त्यस्तै आयात गरी उपभोग गर्ने संस्कार बढ्दै गएको र निर्यातमुखी वस्तु तथा सेवा उत्पादलाई चासो नदिँदा ठूलो व्यापार घाटा भोग्नुपर्ने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्