२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


गेटामा सय सैय्याको अस्पताल सञ्चालनको तयारी, मेडिकल कलेज बन्नेमा स्थानीयको आशंका


2.34k
Shares

कैलाली । कैलालीको गेटामा पहिलो चरणमा न्यूनतम सेवासहित एकसय शैय्याको अस्पताल निर्माण हुँदैछ ।

तत्काल ३ सय शैय्याको अस्पतालसहित मेडिकल विश्वविद्यालय बनाउनुपर्ने अडान कायमै रहँदा सरकारले एक सय शैयाको अस्पताल सञ्चालनको तयारी तीव्र पारेको हो ।

तर स्थानीयले भने सरकारले एकसय शैयाको अस्पताल सञ्चालन गरेर विश्वविद्यालयको सपना साकार हुन नदिने हो कि भनेर आशंका गरेका छन् ।

राष्टपति रामचन्द्र पौडेलले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दा गेटामा विश्वविद्यालय बनाउने उल्लेख थियो । तर बजेट वक्तव्यमा अर्थमन्त्री प्रकाश शरण महतले गेटामा एकसय शैयाको अस्पताल सञ्चालन गर्ने उल्लेख गरेपछि यहाँका नागरिक आन्दोलित थिए । गेटामा कम्तिमा ३ सय शैयाको अस्पतालसहितको मेडिकल विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग जारी रहेका बेला सरकारले एकसय शैयाको अस्पताल सञ्चालनका लागि आवश्यक तयारी तीव्र पारेको हो ।

अस्पताल सञ्चालनका लागि आवश्यक दरबन्दी स्वीकृतसंगै उपकरण जडानको कामपनि तीव्र रुपमा भइरहेको छ । तत्काल एकसय शैयाबाट अस्पताल बिस्तारै ३ सय शैयासम्म पुर्‍याउन सकिने अस्पतालका निर्देशक डा.प्रमोद जोशीले बताउनु भएको छ । न्यूनतम सेवाको अस्पताल साउनभित्रै सञ्चालनमा आउने उहाँको भनाइ छ ।

गत बिहिबार सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादूर शाहसहित चारजना मन्त्रीहरुको टोलीले गेटामा तयार पार्न लागिएको अस्पताल निरीक्षण गरेका थिए । प्रस्तावित मेडिकल विश्वविद्यालयको निरीक्षणपछि मुख्यमन्त्री शाहले अब गेटामा मेडिकल विश्वविद्यालय बन्नबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको थियो ।

सरकारले एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने तयारी गरिरहँदा पनि गेटा मेडिकल विश्वविद्यालय सञ्चालनार्थ संघर्ष समितिले आन्दोलन स्थगित गरेको छैन । ३ सय शैय्याको अस्पतालसहित मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग अगाडी सारेको सघंर्ष समितिले एकसय शैयाको अस्पताल सञ्चालन गरी सुदूरपश्चिमबासीलाई झुक्याउन खाजेको आरोप संघर्ष समितिका संयोजक आनन्द भट्टको छ ।

गेटामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झण्डै पाँच अर्ब खर्चेर चिकित्सा शिक्षा अध्ययन तथा अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार पारेको हो । पाँचवटा ठेक्का मार्फत थप दुई अर्ब २० करोडका संरचना निर्माणको काम भइरहेको छ ।