२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


बौद्ध ग्रन्थ ‘त्रिपिटक’ नेपाली भाषामा अनुवाद हुँदै


21.45k
Shares

काठमाडौं । नेपाल तथागत गौतम बुद्ध जन्मेको देश । उहाँले ४५ वर्ष सम्म दिनु भएको उपदेशहरुको संग्रह बौद्ध ग्रन्थ त्रिपिटक पाली भाषामा संग्रहित रहेको छ । सोही भाषाबाट विश्वका विभिन्न भाषामा त्रिपिटक अनुवाद भएको छ । तर, जन्मभूमीमा रहेका राष्ट्रिय विभिन्न भाषामा अनुवाद हुन सकेको थिएन् । यसका लागि एक बौद्ध विद्धान दिन रात खटिरहेका छन् ।

त्रिपिटक बौद्ध धर्मको प्रमुख प्रामाणिक ग्रन्थ । तथागत गौतम बुद्धबाट ४५ वर्षसम्म देशना गर्नुभएको ८४ हजार धम्मस्क्न्धलाई विनय पिटक, सुत्तपिटक र अभिधम्मपिटक गरि तीन भाग प्राचिनकालदेखि पाली त्रिपिटकमा संग्रहित गरिएका छन् । वर्तमान अवस्थामा विश्वको धेरै भाषामा त्रिपिटकको अनुवाद गरेर प्रकाशन समेत भईसकेका छन् । बेलायतमा आज भन्दा १३० वर्षअघि नै पाली टेक्स सोसाईटीले रोमन लिपि अंग्रेजी भाषामा त्रिपिटकको अनुवाद गरेर प्रकाशन गरिसकेको छ । तर, हालसम्म तथागत गौतम बुद्ध जन्मेको देश नेपालमा कुनै पनि राष्ट्रिय भाषामा महान बौद्ध ग्रन्थ त्रिपिटक अनुवाद हुन सकेको छैन् ।

हुनत सर्वप्राचिन प्रामाणिक पालि त्रिपिटकको विनयपिटकको चार पाना पाण्डुलिपि राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेका छन् । यसकै आधारमा नेपालमा पनि पालि त्रिपिटक प्राचिनकालमा रहेको प्रमाणित हुन्छ । के कति कारणले सो त्रिपिटक नष्ट भयो वा हरायो यो अध्ययन अनुसन्धानको विषय हो ।

नेपालमा पनि त्रिपिटक विभिन्न भाषा अनुवाद गरेर सद्धर्मलाई चिरस्थायी बनाउन पाटनका ७५ वर्षिय दुण्डबहादुर बज्राचार्य ४५ वर्ष देखि निस्वार्थ रुपमा दृढ अधिस्थानका साथ लागिपर्नुभएको छ । उहाँले त्रिपिटकको मूल ग्रन्थ दीघनिकाय, मज्झिमनिकाय, संयुत्तनिकाय, इतिवुत्तक, धम्मपद र मिलिन्द प्रश्न लयायत नेपालभाषामा अनुवाद गरेर वीर पूर्ण पुस्तक संग्रहालयबाट प्रकाशन समेत गरिसक्नुभएको छ ।

सम्पूर्ण बुद्ध वचन त्रिपिटक नेपाल भाषामा लगभग अनुवाद भइसकेको छ । विश्वमा बुद्धधर्मको आवश्यकता महशुस भएका कारण यो धर्म विश्वव्यापी रुपमा विस्तार भएको छ । यसले गर्दा विश्वका विभिन्न भाषामा त्रिपिटकको अनुवादले तिव्रता पाएकोले पनि उहाँ नेपाली भाषामा पालि त्रिपिटकको अनुवादमा लाग्नुभएको छ । दीघनिकाय, मज्झिमनिकाय, थेरगाथा, थेरीगाथा र मिलिन्द प्रश्न नेपालीमा अनुवाद गरेर प्रकाशन पनि भइसकेका छन् । स्वास्थ्यले साथ दिए उहाँले सम्पूर्ण त्रिपिटक नेपाली भाषामा अनुवाद गरेर एक साथ ४५ खण्डमा प्रकाशित गर्ने लक्ष्य राखेको बताउनुहुन्छ ।

राष्ट्रको लागि पनि गौरवको विषय हो। यस्तो विशाल ग्रन्थलाई एक व्यक्तिले संरक्षण र संवद्धन गर्नु साच्चीकै त्याय र तपस्याको कार्य हो । जसले उहाँलाई ‘आदि त्रिपिटकचायर्‘ बन्ने ऐतिहासिक मौका समेत दिएको छ । बुद्ध जन्मेको देशमा सरकारी स्तरबाटै त्रिपिटक अनुवाद र प्रकाशन गर्नुपथ्यो तर, सरकार विदेशीलाई बुद्ध मूर्ति उपहार दिनुबाहेक कुनै माखो मार्न सकेको छैन् । ‘बुद्ध वाज बोर्न ईन नेपाल’को नाराबाट अब माथि उठेर बौद्ध धर्मको प्रर्वद्धनमा ठोस कार्य गर्न सके मात्र बुद्धप्रति सहि सम्मान ठहरिने छ ।