
काठमाडौं । डेढ महिना अघि भाउ नपाएको भन्दै बजार, सडकदेखि किसानको बारीमै फालिएको गोलभेंडाको बजारमा अभाव देखिएको छ । भारतमा निर्यात, गोलभेडाको सिजन सकिँदै जानु र बजार नपाएको समयमा किसानले बोट नै काट्दा बजारमा गोलभेंडा अभावसँगै महँगिएको हो ।
गत असार ३ गते कालिमाटी चोक सहित फलफूल तथा तरकारी बजार परीसरमा सवारी साधन नै गुड्न तथा मानीसको आवत जावत गर्न नै समस्या हुनेगरि गोलभेंडा मिल्काइएको थियो । गोलभेंडाको थुप्रो हटाउन एस्काभेटर नै प्रयोग गर्नुपर्यो । भारतीय गोलभेंडाले राम्रो मूल्य पाउँदा नेपाली गोलभेंडा बिक्री नै हुन छाडेपछि त्यसबेला किसानले सडकमा फालेर विरोध जनाएका थिए ।
त्यसको डेढ महिना पछि यहि कालिमाटी तरकारी बजारमा गोलभेंडा पाउन मुस्किल भएको छ । बजारका प्राय थोक तथा होलसेल पसलमा गोलभेंडा नै छैन भएका पसलहरुमा पनि निकै थोरै मात्रामा छ । त्यसमाथि पनि निकै महँगो ।
डेढ महिनाअघि न्यूनतम प्रतिकिलो ६ रुपैयाँ र अधिकतम १० रुपैयाँ रहेको नेपाली गोलभेंडाको भाउ प्रतिकिलो १ सय ६० देखि १ सय ८० सम्म पुगेको छ । त्यस्तै, टनेलको गोलभेंडा १ सय २२ रुपैँया किलो सम्म पुगेको छ ।
उपभोक्तासम्म पुग्दा अझ बढी भाउ बढ्ने गरेको छ । भारतमा पनि अहिले नेपाली गोलभेंडाको माग उच्च रहेकोले निर्यात हुँदै आएको छ । त्यस्तै, गोलभेंडाका लागि यो अफ सिजन भएको, कतिपय किसानले गोलभेंडा उत्पादन नभएपछि उखेलेर अर्को खेती गर्दा पनि बजारमा गोलभेंडाको भाउ बढ्नुका साथै अभाव भएको हो ।
हाल कालिमाटी बजारमा दैनिक ४० टन सम्म गोलभेंडा आइरहेको छ भने बजारमा ६५ टन सम्मको माग हुने गरेको छ । अहिले काठमाडौंमा बिक्री भइरहेको गोलभेंडा उपत्यकाकै उत्पादन रहेको व्यापारी बताउँछन् ।
यता, थोरै उत्पादनको भएपनि गोलभेंडाको राम्रो भाउ पाउँदा किसान खुसी भएका छन् । हुनत उत्पादन बढ्दा भाउ घट्ने र उत्पादन घट्दा भाउ बढ्ने त हुन्छ नै । तर, कृषिलाई आधुनिकीकरण गर्न नसक्दा कृषक भाग्य भरोसामा पर्ने गरेका छन भने अपभोक्ता अनिश्चित मार खेप्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्