
कैलाली । एक सातादेखि परेको अविरल वर्षाका कारण कैलालीको भजनी क्षेत्र जलमग्न छ । भजनीको वडा नम्बर ३, ५,७ र ८ का नदी किनारका बस्तीहरु पानीले भरिएका छन् ।
मोहना, कन्द्रा, काँढा र पथरैया नदीले स्थानीयलाई प्रत्येक वर्ष दुःख दिन्छ । यसको दीर्घकालीन समाधान गर्ने भनेर स्थानीय तह र प्रदेश सरकारले प्रत्येक वर्ष आश्वासन दिन्छ तर, त्यो आश्वसनमा मात्रै सिमित छ ।
बाढीको डुबान र कटानको उच्च जोखिममा रहेको कैलालीको भजनी नगरपालिका यो वर्ष पनि डुबानमा परेको छ । नगरका सबै बस्ती जलमग्न भएपछि यहाँका एक हजारभन्दा बढी नगरवासी प्रभावित भएका छन् । उनीहरु सुरक्षित ठाउँको खोजी गर्दै सरकारले बनाइदिएको सुरक्षित भवन, विद्यालय र केही हुलाकी राजमार्गमा त्रिपाल टाँगेर बसेका छन् ।

भजनी नगरपालिका क्षेत्रले वर्षेनी बाढीको समस्या झेल्दै आएको छ । यहाँको कन्द्रा, काँढा, पथरैया, मोहना नदीमा आउने बाढीले डुबान हुँदै आएको छ । सबैभन्दा धेरै वडा नम्बर ३ को कुसुमघाट, ढुसी, बर्दवा, कनैयापुर, वडा नं. ८ को बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटाका अधिकांश घरहरूमा पानी भरिएको छ ।
गत बुधबार सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी तथा सांसदहरूले यस क्षेत्रको अनुगमन गरेका छन् । अनुगमन टोलीलाई स्थानीयले दिगो व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

डुबान क्षेत्रको निरीक्षण पछि सभामुख भण्डारीले तत्काल उद्धारमा खटिन सबै निकायलाई निर्देशन दिँदै दिगो व्यवस्थापनको योजना ल्याउन पनि सरकारसँग समन्वय गर्ने बताउनुभयो ।
भजनी क्षेत्रका नागरिकलाई साउन, भदौ र असोज तीन महिना यहाँ बस्न निकै सकस हुन्छ । उनीहरूलाई कति बेला झरी पर्छ र विस्थापित हुनुपर्छ भन्ने पीरले सताइ रहन्छ । समस्या परेपछि सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेर सडकमा ल्याएपनि सरकारले दीर्घकालीन योजना नबनाउँदा समस्या हरेक वर्ष दोहोरिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्