
कैलाली । पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका राना थारु गाउँमा डोलाको रौनक छाएको छ ।
राना थारु समुदायले गाउँको बीचमा दिदीबहिनीका लागि श्रावण महिनाको सुरूमै डोला राखेका छन् । राना थारु गाउँमा श्रावण महिनामा सार्वजनिक स्थानमा डोला राख्ने परम्परा रहेको छ ।
सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना थारु समुदायको बसोबास छ । राना थारु समुदायले श्रावण महिनामा घरमा वा सार्वजनिक स्थानमा पिङ हालेर खेल्ने गर्दछन् । यसलाई डोला भन्ने चलन छ ।
राना थारु समुदायले श्रावण १५ गते तीज मनाउने हुँदा त्यसअघिनै डोला खेल्दै रमाइलो गर्ने गर्दछन् । तर, यसवर्ष मलमास भएकाले भाद्र २ गते तीज मनाउन लागिएको छ । परम्परागत पहिरनमा सजिएका राना थारु महिला आफ्नै शैलीमा गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् । सार्वजनिक ठाउँमा दाजु भाइले दिदीबहिनीका लागि पिङ राख्ने चलन पुरानै हो ।

तीजबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने बिश्वास रहेको छ । दिदीबहिनीले पानीसमेत नपिएर निराहार बसी दाजुभाइको दीर्घायुको कामना गर्दै तीज मनाउँछन् भने प्रसादका रूपमा सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।
परापुर्व कालदेखि मनाइँदै आएको रानाथारु तीज तथा डोला पर्व पछिल्लो समय कार्यक्रममा मात्रै सिमित हुन थालेको छ । नयाँ पुस्ताले सामाजिक सञ्जालबाट प्रभावित हुँदै आफ्नो संस्कृति भन्दा बाह्य संस्कृति अगांल्न थालेको भन्दै अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
यस पर्वलाई जोगाइ राख्न प्रत्येक वर्ष श्रावण महिनामा गाउँमा डोला राखिन्छ । पछिल्लो समय धनगढी उपमहानगरपालिकाले राना थारु संस्कृति संरक्षणका लागि लगानी समेत गरिरहेको धनगढी उपमहानगरपालिकाको उप–प्रमुख कन्दकला राना बताउनुहुन्छ ।

राना थारू संस्कृतिमा परापूर्वकालमा बेहमैयाले तीजको व्रत बसेको र त्यहीँबाट यसको सुरुवात भएको विश्वास छ । शिव–पार्वतीले बेहमैयालाई आफ्ना भाइभतिजाका लागि व्रत बस्न र दीर्घायुको कामना गर्दै गडरौदामा गाँठो पारेर नदीमा बगाउनु भनेपछि व्रत बस्ने चलन सुरु भएको किंवदन्ती छ ।
प्रतिक्रिया दिनुहोस्