१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेह्रथुमको तिनजुरेमा राष्ट्रिय लालीगुराँस पार्क निर्माण हुने


338
Shares

तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगममा रहेको तिनजुरेमा पर्यटकलाई थप आकर्षित गर्न राष्ट्रिय लाली गुराँस पार्क निर्माण हुने भएको छ । पार्क निर्माणका लागि शहरी विकास मन्त्रालयबाट एक करोड रुपैयाँ विनियोजन भइसकेको छ ।

पूर्वी पहाडी क्षेत्रको तिनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्र गुराँसको राजधानीको रुपमा प्रसिद्ध पर्यटकीय गन्तव्य हो । खासगरी यस क्षेत्रमा गुराँस फुल्ने र हिउँ पर्ने मौसममा पर्यटकको चाप बढ्ने गर्दछ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगममा रहेको तिनजुरेमा पर्यटकको आगमनलाई थप आकर्षित गर्न राष्ट्रिय लाली गुराँस पार्क निर्माण गरिने भएको छ ।

बसन्तपुर, सानो पाथीभरा, तीनजुरे क्षेत्रमा तीन तहको सरकारको सहकार्यमा पार्क निर्मणको पूर्वाधार विकास गरी पार्क निर्माण हुने भएको हो । पार्क निर्माणका लागि शहरी विकास मन्त्रालयबाट एक करोड रकम विनियोजन भएको छ ।

वातावरणीय पर्यावरणलाई जोगाइ राख्नुका साथै लालीगुराँसको संरक्षण तथा प्रचारप्रसार गर्न लागेको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताउनु भयो ।

पार्क क्षेत्रमा पूर्वाधार विकासका कामहरु शहरी विकास मन्त्रालयको सहयोगमा नयाँ शहर आयोजनामार्फत गरिने भएको छ । लालीगुराँस पार्क क्षेत्रमा गुराँस रोपण, पदमार्ग निर्माण , पोखरी संरक्षणका साथै पर्यटकलाई आकर्षित गर्ने खालका पूर्वाधार निर्माणको काम गरिने लालीगुराँस नगरपालिका– ७ का वडाध्यक्ष देवेन्द्र खड्काको भनाइ छ ।

केही दिनअघि नगरप्रमुखको नेतृत्वमा सामुदायिक वनका प्रतिनिधि तथा स्थानीयले पार्क निर्माण क्षेत्रको अध्ययन गरेका छन् । पार्कमा २८ प्रजातिको गुराँसलाई क्लस्टर छुट्याएर रोपण गर्ने तथा पर्यटकीय आकर्षणका काम गरिने चैते सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर खड्काले बताउनुभयो ।

पार्क निर्माणका लागि गुराँसको ढुवानी, रोपण तथा यस क्षेत्रमा रहेको पोखरी संरक्षणका साथै लालीगुराँस सम्बन्धी गोष्ठी नगरपालिकाले गर्ने भएको छ । करिब २ हेक्टर क्षेत्रफलमा निर्माण गरिने पार्कमा तीनजुरे, मिल्के, जलजले क्षेत्रबाट २८ प्रजातीका लालीगुराँस ल्याएर रोपण गरिने भएको हो ।