२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्वास्थ्य बिमा कार्यक्रम स्थगित भएपछि पाल्पा जिल्ला अस्पतालमा बिरामीको भीड


2.483k
Shares

पाल्पा । पाल्पा जिल्ला अस्पतालमा बिरामीको भीड बढेको छ । जिल्लाका दुई ठूला अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित हुनुु र अस्पतालले सेवा सुविधा थप व्यवस्थित र प्रभावकारी बनाउँदै गएपछि पाल्पा अस्पतालमा बिरामीको भीड बढेको हो ।

स्वास्थ्य बिमा कार्यक्रम स्थगित भएपछि पाल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । यसअघि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत रेफर सेन्टरको रुपमा चिनिदै आएको जिल्ला अस्पताल अहिले उपचार सेन्टर बनेको छ ।

अध्यधिक भीड हुने युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमाको उपचार हुन छाडेपछि जिल्ला अस्पतालले आफ्नो सेवालाई थप विस्तार र व्यवस्थित बनाउँदै लगेको हो । यहाँ दैनिक ४ सय बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

भौतिक पूर्वाधार र विशेषज्ञ डाक्टरको अभाव भएपनि अस्पतालले सिमित स्रोत र साधनबाट सेवालाई थप प्रभावकारी बनाएपछि सरकारी अस्पतालमा बिरामीको आकर्षण बढेको हो । ५० शैयाको अस्पतालमा पाल्पा लगायत गुल्मी, अर्घाखाँची, स्याङजाबाट समेत बिरामी आएपछि सबै शैया भरिएका छन् ।

अस्पतालमा पहिले औषधि नहुने र आवश्यक उपकरणको अभाव हुने हुँदा बिरामी ठूला निजि अस्पतालहरुमा जाने गरेका थिए । विशेषज्ञसहित ११ जना डाक्टरको दरवन्दी कागजमा मात्र सिमित छ । भौतिक पूर्वधारको अभावमा अस्पतालले साँघुरो क्षेत्रबाट सेवा दिर्दै आएको छ । बिरामीको चाप बढेकाले भौतिक पूर्वधारसँगै गुणस्तरीय सेवा–सुविधा थप गर्न सरकारले ध्यान दिनुपर्ने स्थानीय बताउँछन् ।

अस्पतालको सिमित जनशक्तिले बिरामीको चापलाई थेग्न गाह्रो भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. विवेक भण्डारी बताउनुहुन्छ । अहिले विशेष गरी डेंगी, पखाला, उच्च ज्वरो, प्रेसर, सुगर लगायत नसर्ने रोगका बिरामीहरुको बढी भीड हुने गरेको उहाँले बताउनुभयो ।

आफ्नै अक्सिजन प्लान्ट भएको अस्पतालले सिमित साधन र श्रोतको उपयोग गरी धेरैभन्दा धेरै सेवा उपलब्ध गराउँदै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गुँराश आत्रेय बताउनुहुन्छ । अस्पतालमा भौतिक पुर्वाधारको विस्तारसँगै सेवाको गुणस्तरमा थप वृद्धि गर्न अस्पताल विकास समिति सक्रिय भएर लागेको उहाँले बताउनुभयो ।

सरकारले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा संविधानमा उल्लेख गरेपनि सरकारी स्वास्थ्य संस्थामा स्थापना कालदेखि नै दरबन्दी र भौतिक पूर्वाधारका सेवाहरु काजगमा मात्र सिमित हुँदा पाल्पाका नागरिक विशेषज्ञ सेवाबाट वञ्चित रहेका छन् ।