१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आईफोन गिफ्ट आएको भन्दै भन्सार शुल्क माग्ने गिरोह नियन्त्रणमा


8.866k
Shares

काठमाडौं । सामाजिक सञ्जालमार्फत विभिन्न आकर्षक उपहार अफर गरि आम मानिसलाई बसमा पारेर ठगी गर्ने गिरोहको चंगुलमा कतै तपाईं फस्नु भएको त छैन ? आईफोनको लोभ देखाएर यस्ता व्यक्तिले तपाईंको झिटीगुन्टा उठाइदिन सक्छन् ।

दुबईस्थित जाम जाम इलेक्ट्रोनिक्सका नाममा खोलिएको नक्कली कम्पनीको माध्यमबाट विमानस्थलमा उपहारमा पठाइएको आईफोन आइपुगेको र आईफोन छुटाउन भन्सार शुल्क माग्ने गिरोहका दुई जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेशकुमार यादव रहेका छन् ।

ठगहरुले सामाजिक सञ्जालमार्फत ५० लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । टिकटक, फेसबुक र ह्वाट्सएपमा दुवईमा रहेको बडे भाइ र छोटे भाइको नाममा सञ्चालित जाम जाम इलेक्ट्रोनिक्सले नेपालीलाई गिफ्ट बाँड्ने भन्दै उक्त इलेक्ट्रोनिक्सको नाममा फेक आईडी बनाएर आफ्नो गिफ्ट सुरक्षित गर्न ह्वाट्सएपमा मेसेज गर्न सुझाव दिने गर्दै आएको थियो ।

जसले ह्वाट्सएपमा मेसेज ग¥यो, उसलाई प्रलोभनमा पार्न नयाँ मोडलको आइफोन प्रोम्याक्स १४ को फोटो देखाएर ठगीको निसाना बनाउने यो समूहले काठमाडौंस्थित विमानस्थल भन्सारमा सामान आइपुगेकोले भन्सार तिर्न खातामा ६ हजार रुपैयाँ पठाउनु भन्दै बैंक अकाउन्ट नम्बर र स्क्यान कोड पठाएर पैसा उठाउँदै आएका थिए । यसरी ठगी गर्दै आएको जानकारी पाएपछि उनीहरूलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

यसरी आम नागरिकलाई विश्वासमा पारी रकम ठगी गर्दै आएका पण्डित र यादवलाई प्रहरीले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीहरूको साथबाट नगद ४९ लाख ९५ हजार, एक सय ८३ थान सिम कार्ड, १२ थान एटीएम कार्ड र राउटर लगायतका सामाग्री बरामद गरेको छ । सामाजिक सञ्जालमार्फत यस्ता खाले थुप्रै ठगी धन्दा चल्दै आएका छन् । विभिन्न प्रलोभनमा पारेर गोजी रित्याउन सक्रिय यस्ता गिरोहबाट बच्ने पहिलो र अन्तिम उपाय भनेको लोभ नगर्नु नै हो । त्यसैले यस्ता धन्दाबाट आफू पनि बच्नें र अरुलाई पनि सचेत गराउनु नै वुद्धिमानी हो ।