
काठमाडौं । निरन्तरको वर्षा र त्यसपछि छिनछिनमा हुने मौसम परिवर्तनका कारण देशभर भाइरलका बिरामी बढेका छन् ।
दिनभर स्वस्थ रहेको व्यक्तिलाई साँझ परेपछि टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिन थालेकाे छ । मौसमको असन्तुलनका कारण यस्ता समस्या देखिनु स्वभाविक भएपनि हेलचेक्र्याइँ भने गर्न नहुने चिकित्सकहरुको भनाइ छ ।
दिनभर स्वास्थ्य अवस्था ठिकठाक रहेको मान्छेमा साँझ परेपछि हनहनी ज्वरो आउने, रुघा खोकी लाग्ने, टाउको दुख्ने, वाकवाक लाग्ने लगायतका समस्या देखिने गरेको छ । विरामी परेको ३ दिनदेखि एक हप्तासम्म ओछ्यानबाट उठ्नै नसक्ने अवस्था रहने गरेको छ ।
अझ डेंगी संक्रमणमा परिसकेकाहरुले थप कमजोरी महसुस गर्ने गरेका छन् । स्कुले बच्चा यस्तो समस्या बढी पीडित देखिएका छन् । बिरामी परेर अस्पतालमा भर्ना भएकामध्ये अधिकांश व्यक्ति भाइरलका बिरामी रहेको पाइएको छ । देशका पहाडी जिल्लामा केही कम देखिएपनि तराइका जिल्लामा भने भाइरल बिरामीको प्रकोप अझ बढेको देखिन्छ । अहिले प्रायजसो बिरामी एडिनो नामक भाइरसबाट प्रभावित रहेको सरूवा राेग विशेषज्ञ डा. शेरबाहादुर पुन बताउँनुहुन्छ ।

बालाबालिकामा यस्तो खालको प्रकोप देखिएपछि तराइका केही स्थानमा स्कुल बन्द गरीएको छ । बिरामी विद्यार्थी स्कुल नआउने र आएकाहरुबाट अन्यमा सर्ने देखिएपछि स्कुल बन्द गरिएको हो । अहिले देखिएको भाइरस खासै जोखिमपूर्ण नभएको र पूर्ण निको हुन कम्तीमा एक हप्ता लाग्ने भएकाले संयमित भएर उपचार गराउन चिकित्सकहरुको सुझाव छ । त्यस्तै, बिरामी हुनसाथ चिकित्सकको परामर्श विना विभिन्न प्रकारका एन्टीवायोटीक औषधीको सेवन नगर्न चिकित्सकको सुझाव छ । जथावाभी एन्टीवायोटीक औषधीको प्रयोज झनै जोखिमपूर्ण हुने विज्ञको भनाइ छ ।
सामान्यतया खानपान, सरसफाइलगायत जीवनशैलीलाई ध्यान दिए भाइरल बिरामी नहुने र भएपनि छिटो सन्चो हुने चिकित्सक बताउँछन् । बिरामी परिहाले चिकित्सकको सल्लाह अनुसार उपचार गराए जोखिम कम हुने गर्दछ । यस समयमा खानपान, पोसाक र पानीबाट नभिज्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्