
काठमाडौं । दुई वर्षअघि एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) प्रभावशाली नेताहरूको विद्रोहको सम्भावनाले झनै कमजोर बन्दै गएको देखिएको छ । ३५ बढी केन्द्रीय सदस्यको बहिर्गमन, २० जिल्ला नेतृत्वको पलायन र दैनिकजसो नेता कार्यकर्ता एमाले प्रवेशले नेकपा एसलाई चुनौतिको बिन्दुमा खडा गरेको हो । सरकारमा सहभागिताबाहेक पार्टी वैचारिक रुपमा स्थापित हुन नसकेको आलोचना नेतृत्वले खेप्दै आएको छ ।
दुई वर्षअघि एमालेबाट चोइटिएर बनेको नेकपा (एस)का सचिवद्वय रामकुमारी झाँक्री र राजेन्द्र राईको असन्तुष्टिले पार्टीमा आगोमा घिउ थप्ने काम गरेको छ । गठबन्धनको बलमा १० सीट जितेर केही थान मन्त्री बन्नुबाहेक अन्य उपलब्धि नभएको भन्दै पार्टीमा तीव्र असन्तुष्टि छ । सोही कारण पार्टी छाडेर एमालेमा मिसिने लहर नै चलेको छ । पार्टी गठनमा महत्वपूर्ण योगदान र अग्रसरता देखाएका नेता नै पार्टी बैठकमा जान छाडेका छन् ।
३५ बढी केन्द्रीय सदस्यको बहिर्गमन, २० जिल्ला नेतृत्वको पलायन र दैनिकजसो नेता कार्यकर्ता एमाले प्रवेशले नेकपा एसलाई चुनौतिको बिन्दुमा खडा गरेको हो । पार्टीको औचित्य पुष्टि नै गर्न नसकिएको भन्दै राई र झाँक्रीमा असन्तुष्ट रहेको बताइन्छ । विद्यार्थी राजनीतिबाट एमालेमा उदाएका यी दुई नेता लोकप्रिय र चर्चित अनुहार हुन् । राई त झन् कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत हुन् । तर, पार्टीका गतिविधिसँग उनीहरू पछिल्लो एक वर्षयता असन्तुष्ट बन्दै आएका छन् ।
दुई वर्षसम्म विभाजनको औचित्य पुष्टि गर्न नसकेको र पार्टीलाई दिशा दिने कुनै कार्यक्रम नल्याएको झाँक्रीको आरोप छ । ८६ जना सांसदले कोशी नामको पक्षमा मत हाल्दा समाजवादीका ४ सांसदले विपक्षमा भोट हालेका थिए । तर, समाजवादीका सम्मानित नेता झलनाथ खनालले कोशी प्रदेश नै उपयुक्त नाम भएको र लाखौंको भावना समेटिएको भन्दै वक्तव्य जारी गरेपछि राईसहितका नेता असन्तुष्ट बन्नुभएको छ ।
एमाले विभाजनका बेला १० प्रभावशाली नेताले धोका दिँदा माधव नेपाललाई जुरुक्कै बोकेर रामकुमारी झाँक्री तथा राजेन्द्र राईहरूले नयाँ पार्टी गठनको माहोल बनाउनुभएको थियो ।अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहितका नेताले साथ नदिँदा पनि विद्यार्थी राजनीतिबाट आएका यी दुई हस्तीले दरिलो साथ दिएका थिए ।
नयाँ पार्टी गठनका लागि निर्वाचन आयोग पुग्दा माधव नेपाललाई झाँक्रीले डोहो¥याएको तस्वीर भाइरल भएको थियो । नीति, कार्यशैली, नेतृत्व र कार्यक्रम प्रभावकारी भएन भनेर विद्रोह गरे पनि हिजैको जस्तो परिस्थिति, एजेन्डा, प्रवृत्ति र कार्यशैली देखिएको कार्यकर्ताहरुको बुझाई छ । केही समयअघि बसेको समाजवादीको स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालले १६ पृष्ठको प्रतिवेदन पेस गर्दै पार्टीको जनमत खुम्चिएको र निरीह देखिनुपरेको भन्दै नेतृत्वमाथि आक्रोश पोख्नुभएको थियो । ‘पार्टीको जनमत खुम्चिँदै गयो । स्थानीय निर्वाचनमा पार्टीले ६ लाख मत पाएको थियो, तर राष्ट्रिय चुनावसम्म आउँदा ३ लाख पनि कटाउन नसक्ने दुःखद् अवस्था बन्यो,’ खनालले दस्तावेजमा भन्नुभएको छ । व्यावहारिक हिसाबले मिलाउने अवस्थामा एमालेसँग एकता गर्नबाट पनि पछाडि हट्न नहुनेमा खनालको जोड छ ।
अध्यक्ष माधव नेपालको सक्रियतामा जन्मिएको एमालेबाहेकका कम्युनिष्ट पार्टीको समाजवादी मोर्चा पनि खासै प्रभावकारी बन्न सकेको छैन । अझ यही महिनादेखि एमसीसी कार्यान्वयन चरणमा जाँदा कम्युनिष्ट पार्टीहरु थप विग्रहमा जाने खतरा देखिएको छ । एमसीसीमा दोहोरो मापदण्ड प्रदर्शन गरेकोमा अध्यक्ष नेपाल पार्टीमा तारो बन्दै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्