२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नवलपरासीका स्थानीय सरकारी बीमा सुविधाको औषधी नीजि क्लिनिकबाट किन्न बाध्य


247
Shares

नवलपरासी । स्वास्थ्य संस्थाहरुले पर्याप्त औषधी उपलब्ध गराउन नसक्दा स्वास्थ्य बीमा गराएका नवलपरासीका सेवाग्राहीले निजि क्लिनिकबाट औषधी किन्नु पर्ने बाध्यता भएको छ ।

बीमा सुविधा भएपनि बाहिरबाट औषधी किन्नु पर्दा यहाँका सेवाग्राही आक्रोशित भएका छन् ।स्वास्थ्य बीमा गराएका नवलपरासीका सेवाग्राहीका लागि जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल, चिसापानी अस्पताल, पाल्ही स्वास्थ्य संस्था र जगन्नाथपुर स्वास्थ्य संस्था प्रतापपुर गरी चारवटा सरकारी स्वास्थ्य संस्थाबाट सेवा सुविधा लिने पहिलो संस्थाका रुपमा तोकिएको छ ।

यी संस्थाहरुले बीमा गराएका सेवाग्राहीलाई सुविधाबापतको औषधी प्रदान गर्नुपर्छ तर स्वास्थ्य संस्थाहरुले अधिकांश औषधी बाहिरी क्लिनिकमा किन्न पठाउन थालेपछि स्थानीय सेवाग्राही आक्रोशित हुन थालेका छन् ।सरकारले स्वास्थ्य बीमाबापतको पूरा रकम नपठाउँदा औषधी ल्याउन नसकिएको स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।

औषधि मगाउँदा सप्लायर्सले पुरानो बाँकी रकम नदिएको भन्दै पठाउन नमानेपछि समस्या भएको स्वास्थ्य संस्थाहरुको भनाइ छ । बिमाबापतको दावी रकम माग गरेर पठाएपनि बिमा बोर्डले नपठाउँदा सर्वसाधारण मारमा परेको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका व्यवस्थापक सुरेन्द्र अधिकारी बताउनुहुन्छ ।

बीमासँगै स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ । जिल्लामा कुल ४१ हजार ४ सय ४२ जनाले स्वास्थ्य बिमा गराएका छन् । बिमा गराउनेमा पुरुषभन्दा महिलाको संख्या बढी छ । रोजगारीका लागि पुरुष विदेशिएको, केही युवा पढाइ र अन्य कामले बाहिर गएका कारण पुरुषभन्दा महिलाको संख्य बढी देखिएको स्वास्थ्य बिमा बोर्ड जिल्ला शाखाका प्रमुख त्रिलोचन गैरे बताउनुहुन्छ ।सर्वसाधारणको बीमाका लागि हरेक पालिकाका प्रत्येक वडाहरुमा बिमा दर्ता सहयोगी राखिएको छ ।

बिमा गराएका सेवाग्राहीले ११ सय २८ प्रकारका औषधी निःशुल्क पाउँछन् । तर सुविधावापत पाउने निःशुल्क औषधी बाहिर किन्न परेपछि सेवाग्राहीमा बिमाप्रतिको आकर्षण घट्ने भएकाले सरकारले औषधी उपलब्ध गराउन तर्फ ध्यान दिन जरुरी छ ।