२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सरकारले बिजनेस दिन नसक्दा सुदूरपश्चिम प्रदेशसभा बैठक बस्न सकेन


65
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभा बैठक लामो समयदखि बस्न सकेको छैन ।

प्रदेशसभाको दोश्रो कार्यकालपछि दुई जना मुख्यमन्त्रीले विश्वासको मत लिने र बजेट प्रस्तुत गर्ने काम मात्रै भएको छ । जनतासँग प्रत्यक्ष जोडिएका कानून निर्माण कार्य बाँकी रहेपनि सरकारले प्रदेशसभालाई बिजनेस दिन नसक्दा बैठक बस्न नसकेको हो ।

गत असार ३० गते सुदूरपश्चिम प्रदेश सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि स्थगित भएको प्रदेश सभा बैठक एक महिनापछि बस्यो ।

प्रदेशसभामा बजेट प्रस्तुतपछि भदौ ४ गते बसेको प्रदेशसभा बैठकमा सबै दलका तर्फबाट प्रदेशसभा सदस्यहरुले आ–आफ्ना धारणा राखेका थिए । त्यसपछि अनिश्चित कालका लागि स्थगित बनेको प्रदेशसभा कहिले सञ्चालन हुने भन्ने कुनै टुंगो छैन । सरकारले प्रदेश सभालाई बिजनेस दिन नसक्दा प्रदेश सभा बैठक सुरु हुन नसकेको हो ।

‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘विनियोजन विधेयक, २०८०’ बाहेक कुनै पनि नयाँ कानून प्रदेश सभाबाट पारित भएको छैन । यी दुई कानून प्रत्येक वर्ष ल्याउनु पर्ने हुन्छ ।

त्यसबाहेक प्रदेश सभाबाट ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ संशोधन भएको छ । सात महिनादेखि सुदूरपश्चिम प्रदेश सरकार सुस्त बन्दा त्यसको प्रभाव प्रदेश सभामा पनि परेको आरोप लाग्ने गरेको नेकपा एमालेका प्रदेशसभा सदस्य धर्म पाठकले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सभामा प्रथम अधिवेशन जेठ ६ गते सम्पन्न भएर जेठ १३ गतेबाट दोस्रो अधिवेशन सुरु भएको थियो । पहिलो अधिवेशनमा सभामुख, उपसभामुख निर्वाचन र मुख्यमन्त्रीको विश्वासको मतमा मात्रै केन्द्रित भएको प्रदेश सभा दोस्रो अधिवेशनमा नीति तथा कार्यक्रम र बजेटमा मात्रै केन्द्रित भयो । त्यसपछि प्रदेशसभाले कुनै विधेयक नपाएको नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले बताउनुभयो ।

जेठ २४ गते प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम जेठ ३० मा पारित भयो भने सरकारले असार १ गते बजेट ल्यायो । बजेट प्रस्तुतको २५ दिनपछि बल्ल संसद् सुरु भयो । २५ गते बजेटमाथि छलफल नभई प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीको सडक दुर्घटनामा निधन भएको घटनाप्रति शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको थियो ।

असार ३० मा बजेट पारित भयो त्यसको एक महिनापछि बसेको बैठक बिजनेस नहुँदा फेरी अनिश्चितकालका लागि स्थिगित भएको छ ।