
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा गरेको विरोध सभामा सहभागी हुन गाउँ गाउँबाट आएका कार्यकर्ता देशमा बढेको भ्रष्टाचार र दण्डहिनताप्रति आक्रोशित देखिन्थे । मुलुकले धान्न नसक्ने संघीयताबाट मुलुकलाई मुक्ति दिनुपर्ने उनीहरुको मत छ ।
विरोध सभामा सहभागी ८३ वर्षीय वृद्धले तानाशाही नुरंकुसले देश खायो भन्थे, अहिले देश नेताले विदेशीलाई दिन तत्पर भएको बताउनुभयो । उहाँले यस्तै अवस्था रहिरहने हो भने अब जनताले खबरदारी नगरे यो देश विदेशीको हुन्छ र नेपालीलाई देशमा बस्ने अधिकार पनि नहुने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको देशव्यापी विरोध सभामा सहभागी ती वृद्धको देशप्रतिको बितृष्णा हो । गौ हत्या, संघीयता खारेज, राजसंस्थाको पुनस्थापनालगायत देशमा मौलाएको भ्रष्टाचार विरुद्धमा राप्रपाले देशभर गरेको विरोधसभामा हजारौं नरनारीले सहभागिता जनाए । सबै उमेर समूहका मानिसको सहभागिता रहेको विरोध सभामा देशभरबाट राजधानीको भृकुटीमण्डमा सहभागी हुँदा भीड थामिनसक्नु थियो ।
सदनदेखि सडकसम्म विरोध निरन्तर हुने भन्दै माग पूरा नभएसम्म विरोध यथावत रहने नेतृत्वको भनाइ छ । हिन्दूत्वप्रति आक्रमणको प्रयास चारैतिरबाट भइरहेको छ सरकारको ध्यान आकर्षण गर्नको लागि र गौ हत्या गर्नेलाई कारवाही नभएसम्म आन्दोलन निरन्तर भइरहने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो ।

एकपछि अर्को भ्रष्टाचारका प्रकरण, भ्रष्टाचारमा पार्टीका नेताहरुको संलग्नता र मुलुकमा बढ्दो दण्डहीनताबाट तल्लो तह प्रताडित थियो ।
सभामा अधिकांश पाका उमेरका व्यक्ति भएपनि युवा र महिलाको जमात कम थिएन । टन्टलापुर घामको परवाह नगरी कतै नाचगान, त कतै नारा जुलुस गरी बेथिति विरुद्ध जनस्तरबाट लगाइएको खबरदारीको आवाज भने सुन्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्