
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ६ रजौरामा रहेको कमल पोखरी संकटमा परेको छ ।
२०४४ सालसम्म रजौरा आसपासका गाउँलेहरुको पानीको संकट टार्ने कमल पोखरीको अस्तित्व नै संकटमा परेको हो । डेढ करोड रुपैयाँ बढी खर्च गरेर बनाइएको पोखरीमा अहिले एक थोपा पानी छैन ।
कमल पोखरीलाई आधुनिक दहका रुपमा विकास गर्न उपमहानरले २५ लाख, कोहलपुर पर्यटन डिभिजन कार्यालयले साढे ४६ लाख र युएसए आइडीले भ्याटसहित ८० लाखभन्दा बढी रुपैयाँ लगानी गरि सकेका छन् । यति धेरै लगानी गर्दा पनि पोखरीको काम पुरा हुन नसक्नु सम्बन्धित निकायको कमजोरी भएको स्थानीय डिल्लीबहादुर वली बताउनु हुन्छ ।
२०४४ सालसम्म यो पोखरीमा रातो कमलको फूल ढकमक्क फूलेका हुन्थे । पोखरीमा बाह्रै महिना पानी हुन्थ्यो । २०४४ सालपछि गोविन्द रजौरे वडाध्यक्ष भएको समयमा पोखरी खनेर थप गहिरो बनाइएको थियो । त्यस क्रममा पोखरीमा भएका कमलको फूल नासिए । पहिलेको भन्दा पोखरी राम्रो बनाउन शुरु त भयो तर, अहिले पोखरीमा एक थोपा पानी छैन् । सिमेन्टले बनाएको कलमको फुल मात्र ठिङग उभिएको छ । यता कमल पोखरी टोल विकास संस्थाका अध्यक्ष दीपक न्यौपानेले बजेट अभावका कारण पोखरीको विकास गर्न नसकिएको बताउनु हुन्छ ।
२०७४ सालमा स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि पोखरीलाई तालको रुपमा विकास गर्न २ करोड २० लाख रुपैयाँको डीपीआर तयार भए पनि अहिलेसम्म पुरा भएको छैन् । यो ताल साझेदारीको योजना भएको भन्दै निर्माणका लागि तीन वटा सरकारले बजेट दिएर शहरमा सुन्दर ताल तथा पार्कको रुपमा विकास गर्ने योजना अनुसार काम भएको र यो आर्थिक बर्षमा पुरा हुने तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले बताउनु भयो ।
करोडौंको लगानी भइसकेको शहरका यस्ता अलपत्र संरचनाको विकास गर्न र यो पोखरीलाई पुर्नजीवन दिन सम्बन्धित निकायले चाँडै निकास दिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्