१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तीजको मौलिकता हराउँदै


598
Shares

काठमाडौं । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज । माईती गई मीठो मसिनो खाने तथा नाचगान गरेर रमाइलो गर्ने यस पर्वलाई महिला उन्मुक्तिको पर्वको रुपमा समेत लिने गरेको पौरानीक मान्नेता रहेको छ ।

प्राचीनकालमा पार्वतीले भगवान शिवलाई पति पाउँ भनी निराहार बसी तपस्या गरेको दिनका रुपमा चिनिने हरितालिका तीज हिन्दू नारीहरुको हर्ष र स्वतन्त्रताको चाडका रुपमा लिइन्छ । विवाहित वा अविवाहित अधिकांश हिन्दू नारीहरुले तीजका दिन सौभाग्यको प्रतीक रातो साडी, रातै चुरा अनि पोतेमा सजिएर रमाइलो गरी ब्रत बस्ने गर्दछन् । सोमबार काठमाडौंको पाशुपत क्षेत्र पनि बिहानैदेखि रंगीन बन्यो । एकातिर आफ्नो मनोकामना पूरा हुने आशामा पशुपतिनाथको दर्शन गर्न महिलाहरु लामवद्ध र कोही रमाइलो गरी नाचगानमा व्यस्त देखिन्थ्य ।

तीजमा नारीहरुले गीतमार्फत् आफ्ना भावना अभिव्यक्त गर्ने गर्दछन् । सासु–बुहारीबीचको सम्बन्ध होस् वा माइतीतिरको सम्बन्ध चेलीहरुले गीतमार्फत् नै अभिव्यक्त दिने गर्दछन् । उनीहरुले आफ्ना भावनासमेत गीतमार्फत् व्यक्त गर्ने गर्दछन् ।

नेपालीजन पुगेका विश्वका हरेक कुनामा तीज पर्व पनि पुगेको छ । तर परम्परागत तीज पर्वको मौलिकतामा आँच पनि आईरहेको छ । तीजको नाममा एक महिना अघि देखिनै दर खाने होस वा लुगाफाटो र गहनाको तडकभडक होस यसले पर्वको मर्ममाथि प्रहार गर्ने गरेको छ । यस्ता विकृतिले पर्वको पारम्परिक महत्वलाई ओझेलमा पार्ने र पर्व बजारको बन्दी हुने त होइन भन्ने चिन्ता पनि गर्न थालिएको छ ।

तीजको नाममा हुने विलासिता र तडक–भडक जस्ता विकृतिलाई न्यून गर्दै पर्वको धार्मिक, सांस्कृतिक र परम्परागत महत्वलाई जोगाउनेतर्फ सम्पूर्ण सनातन धर्मावलम्वी महिलाहरु सचेत हुनु आजको आवश्यकता हो ।