
सर्लाही । गणेश पूजाको मूर्ति सेलाउने क्रममा सर्लाही सदरमुकाम मलंगवामा बिहीबार रातिदेखि तनाव सिर्जना भएको छ । यो दङ्गामा स्थानीय भन्दा बाहिरबाट जनशक्ति परिचालित भएको स्थानीय अगुवा बताउँछन् ।
सर्लाहीको सदरमुकाम मलंगवामा गणेश पूजाको मूर्ति सेलाउने क्रममा साम्प्रदायिक दङ्गा फैलाउने प्रयास भइरहेको स्थानीयले बताएका छन् । दङ्गाका कारण सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी छ । तर यो दङ्गामा यहाँका हिन्दु तथा मुस्लिम दुवै समुदायका व्यक्तिको सहभागिता नरहेको स्थानीय मुस्लिम अगुवा तथा धर्म गुरु बताउनु हुन्छ ।
स्थानीय नागरिक पुस्तौदेखि मिलेर बसिरहेको अवस्थामा बाहिरबाट आएका व्यक्तिले धार्मिक सद्भाव खलबल्याउन खोजेकाले दुवै समुदायमा चेतना फैलाउन आवश्यक भएको नागरिक समाज सर्लाहीका अध्यक्ष उग्र कान्त झाले बताउनुभयो ।
दङ्गाा हुन थालेपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ । हाटबजार ठप्प हुँदा दैनिक उपभोग्यका सामाग्री किन्न समेत पाएका छैनन् । शुक्रबारदेखि सदरमुकामका सरकारी तथा अन्य कार्यालय पनि खुल्न सकेका छैनन् । मलङ्गवाकै घटनासँग जोडेर जिल्लाका अन्य प्रमुख व्यापारिक केन्द्रमा समेत बेलाबेलामा प्रदर्शन भइरहेका छन् ।
सामाजिक सञ्जालमा आगजनी, तोडफोड जस्ता अफवाह फैलाएर हिँडने ४० भन्दा धेरै व्यक्तिलाई सार्वजनिक मुद्दा लगाइएको छ । नेपाली सेनाले समेत गस्ती थाल्लेपछि सोमबार बिहानबाट दिउँसोको कर्फ्यु हटेको छ भने राति ८ बजेदेखि बिहान ४ बजेसम्म कायमै राखिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताउनुभयो ।
मलंगवामा साम्प्रदायिक दंगा नियन्त्रण गर्न नेपाली सेनाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका पाँच सय सुरक्षाकर्मी खटाइएको छ । यस्ता दङ्गाबाट समाजलाई नै हानी हुने भएकाले दङ्गा रोक्नु हरेक व्यक्तिको पनि जिम्मेवारी हो ।
प्रतिक्रिया दिनुहोस्