२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव

तयार जनशक्ति विदेश पलायन

130
Shares

काठमाडौं । नेपालमा चिकित्सा क्षेत्रका विभिन्न विधामा ६४ हजार बढी जनशक्ति अभाव रहेको देखिएको छ । चिकित्सा शिक्षा आयोगका अनुसार विशेषज्ञ चिकित्सकदेखि आयुर्वेदिक, प्राकृतिक, फिजियोथेरापी लगायतका जनशक्तिको अभाव देखिएको हो ।

नेपालमा चिकित्सक, नर्स, पारामेडिक्सलगायत स्वास्थ्य क्षेत्रका विभिन्न विधामा दुई लाख ५७ हजार दुई सय तीन जना मेडिकल जनशक्तिको आवश्यकता रहेको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये देशभर दुई लाख ११ हजार ९ सय ७७ जना मात्रै जनशक्ति उपलब्ध छ । चिकित्सा शिक्षा आयोगले ०७७ /७८ को मेडिकल जनशक्ति र व्यवस्थापनलाई आधार मानेर २०७८ फागुनदेखि २०७९ माघसम्म गरेको अध्ययन अनुसार ६३ हजार ८ सय ८ जना बराबरको जनशक्ति अभाव देखिएको हो ।

देशको जनसंख्याको अनुपातमा यो निकै कम जनशक्ति हो । सहज स्वास्थ्य सेवाका लागि विश्व स्वास्थ्य संगठनले प्रति १० हजार जनाका लागि एक डाक्टर, एक नर्स र एक सुढेनीसहित ४९ स्वास्थ्यकर्मी हुनुपर्ने मापदण्ड तोकेको छ  । आयोगका अनुसार २०७७/७८ र २०७८/७९ मा एउटै अनुपात अर्थात झन्डै दुई लाख ५६ हजार पाँच सय ९७ ले मेडिकल शिक्षा हासिल गरेका थिए ।

तर, त्यसमध्ये काममा आउने जनशक्ति दुई लाख ११ हजार ९ सय ७७ मात्रै रहेको पाइएको छ । बाँकी ४४ हजार ६ सय २० जनशक्ति विदेश पलायन भएको तथा श्रम बजारमै नआएको अध्ययनले देखाएको छ  । स्वास्थ्य क्षेत्रमा यति ठूलो जनशक्ति अभाव हुँदा पनि सरकारले लामो समयदेखि चिकित्सक दरबन्दी थपेको छैन । दरबन्दी थप्नेमा स्वास्थ्य मन्त्रालय लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल बताउनुहुन्छ ।

मेडिकल जनशक्तिको अभाव मात्रै होइन, देशमा रहेका स्वास्थ्य संस्थाहरुमा भौतिक पूर्वाधारको अवस्था पनि उत्तिकै दयनीय छ । जसका कारण अस्पतालहरुमा रहेका स्वास्थ्य उपकरणहरु पनि प्रयोगविहीन अवस्थामा थन्किएका छन् । महँगो लगानीमा किनिएका उपकरणहरुको प्रयोग नहुँदा स्वास्थ्य सेवा प्रवाहमा असर परेकै छ, त्यसमाथि लगानी पनि बालुवामा पानी हाले जस्तो भईरहेको छ । सबै क्षेत्रले स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव पोखरेल बताउनुहुन्छ ।

मेडिकल जनशक्तिको अभाव चर्किनुमा देशमा तयार हुने जनशक्तिको विदेश पलायन हो । त्यसैले वर्षेनी उत्पादन हुने जनशक्तिलाई देशभित्रै सहज काम गर्ने वातावरण सिर्जना गर्नु सरकारको दायित्व हो ।