
काठमाडौं । पशुबाट मानिसमा सर्ने रोग हो रेबिज । रेबिजबाट बच्ने उपायसहितको जनचेतना जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ अर्थात् आजकै दिन विश्व रेबिज दिवस मनाउने गरिन्छ । चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावर र कुकुरबाट मानिसमा समेत सर्ने गर्दछ । नेपालमा कुकुर र बाँदरले पछिल्लो एक महिनामा १ हजार ७ सयलाई टोकेको तथ्यांक छ ।
राजधानीको शुक्रराज ट्रपिकल अस्पताल टेकूमा बिहीबार एन्टी रेबिजको भ्याक्सिन लगाउनेको भीड नै लागेकोे थियो । भ्याक्सिन लिन पुगेकाहरुमा अधिकांश भुस्याहा कुकुरले टोकेर आएका थिए । सडकमा छोडिएका भुस्याहा कुकुर मात्र होइन, घरमा पालेका कुकुरले टोकेर आउनेको संख्या पनि प्रशस्तै थियो ।
शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै ओपिडी र आकस्मिक कक्षमा गरी दिनमा २ सय बढी कुकुर र बिरालोको टोकाइका बिरामी आउने गरेको टेकू अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख भालेश्वर यादव बताउनुहुन्छ ।
यो रोग लागेको व्यक्ति पानी देखेर डराउने हुनाले रेविजलाई पानीबाट डराउने रोग पनि भनिने गरिन्छ । रेबिजका कारण विश्वभर बर्षेनी ५९ हजारको मृत्यु हुने गरेको तथ्यांक छ ।
चरा वा स्तनधारी वर्गका यी जनावरमा लाईसा नामक भाइरसको सङ्क्रमण भएमा र जनावरले टोकेमा वा कुनै आलो घाउमा चाटेमा पनि मान्छेलाई रेबिजको सङ्क्रमण हुन्छ । यी जनावरले टोकेमा घाउको प्रकार हेरी ३ देखि ५ डोजसम्म भ्याक्सिन लगाउनुपर्ने टेकू अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डा. यादव बताउनुभयो ।
त्यसो त गाई, भैंसी, भेंडा, बाख्रा, लगायत जनावरमा रेबिज छ भने उनीहरुसँगको सम्पर्कमा आउँदा पनि रेविज सर्ने गर्दछ । तर, सबैभन्दा बढी चाहीँ कुकुरबाटै सर्ने गरेको अध्ययनले देखाएको छ । नेपालमा घरमा पालिने कुकुरको सन्दर्भमा कुकुर पाल्नेको लापरवाहीका कारण यो समस्या देखिने गरेको छ भने भुस्याहा कुकुरको हकमा व्यवास्थापन नहुनु नै समस्या रहेको पाइन्छ ।
विश्वमा वर्षेनी मनाउने रेबिज दिवसका बेला विभिन्न अभियान चलाइने गरेको छ । नेपालमा पनि त्यससँग मिल्ने नारा दिने र विविध कार्यक्रम गर्ने गरिन्छ । तर, नेपालमा भने रेबिजको मुख्य कारण भुस्याहा कुकुरको टोकाइ नै रहेकोले यसको निवारणका निम्ति मुख्य अभियान तिनको नियन्त्रण र व्यवस्थापनमै केन्द्रित गर्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्