
काठमाडौं । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्व मुटु दिवस मनाउने गरिएको छ । यो बर्षको नारा “मुटुको प्रयोग गरौं, मुटुबारे जानौं’ भन्ने तय गरिएको छ ।
वर्षैपिच्छे विभिन्न कार्यक्रमका साथ मुटु दिवस मनाउने गरिए पनि मुटु रोगीको संख्या भने घटुनुको सट्टा झन बढ्दै गएको तथ्यांकले देखाएको छ ।
विश्वभर प्रत्येक वर्ष मुटु सम्बन्धी रोगका कारण करिब २ करोड मानिसले ज्यान गुमाउने गरेका छन् । नेपालमा हुने मृत्युमा १६ प्रतिशत मुटु रोगकै कारण हुने गरेको पाइन्छ । व्यस्त अनि तनावपूर्ण जीवनशैली र व्यायामको कमीका साथै अनियमित खानपान, धुमपान, मद्यपान, विभिन्न अशुद्ध एवं अत्याधिक फाष्टफुडको प्रयोगले दिनप्रतिदिन मुट रोगको जोखिम बढ्दै गएको तथ्यांकले देखाएको छ । बुढ्यौलीमा मुटु रोग देखिनु प्रवृत्ति बढी रहने गरे पनि पछिल्लो तथ्यांकले युवाहरुमा मुटुको समस्या बढी पाइएको देखाएको छ ।

उनीहरुलाई मद्यपान, धूमपान, खैनी, सूर्तीको लतबाट जोगाउन सके मात्रै पनि युवामा हुने मुटुको समस्या ह्वात्तै कम हुने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.चन्द्रमणी अधिकारी बताउनुहुन्छ । शहरी क्षेत्रमा मुटु सम्बन्धी रोग अझ भयावह रहेको छ । मुटु रोगमा पनि अझ बढी जोखिम मानिएको हृदयघात अर्थात् हार्ट अट्याकबारे चेतनाको कमीकै कारण ५० देखि ५५ प्रतिशतको मृत्यु हुने गरेको पनि डा. अधिकारीको भनाई छ ।
तुलनात्मक रुपमा मुटु रोग बढी खर्चिलो भएपनि नेपालमा सबै प्रकारका मुटु रोगको उपचार गराउन सम्भव रहेको चिकित्सको दावी छ । यसको उचारका लागि विदेशमा जानु नपर्ने उनीहरुको भनाइ छ । तर, यसलाई वर्षमा एक पटक मनाइने दिवसको रुपमा नभई हरेक दिनलाई मुटु दिवश मनाउन जरुरी रहेको चिकित्सहरुको सुझाव छ ।
खानपिन र जीवनशैलीमा परिवर्तन गरि दैनिक व्यायाममा ध्यान दिन सके करीव ८० प्रतिशतसम्म मुटु सम्बन्धी रोगको नियन्त्रण गर्न सकिने हुदाँ हरेक व्यक्ति आफै जिम्मेवार हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्