१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दशैंका लागि खसी, बोका र च्यांग्रा ल्याउने खाद्यको तयारी, बजार मूल्यभन्दा सस्तो पर्ने


2.21k
Shares

काठमाडौं । सरकार र व्यापारीहरुले यो वर्षको दशैंका लागि खसीबोका र च्यांग्रा उपत्यकामा ल्याउने तयारी गरेका छन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा र व्यापारीहरुले ५० हजार खसीबोका तथा १० देखि १५ हजार च्यांग्रा ल्याउन लागेका हुन् ।

नेपालीहरुको महान पर्व दशैं सुरु हुन अब धेरै दिन बाँकी छैन । दशैंमा सबैभन्दा बढी खपत मासुको हुने गर्दछ । वर्ष भरीमा हुने खपत भन्दा दशैंमा मात्रै हुने खपत बढी हुने गर्दछ । माग उच्च हुने भएकाले व्यापारीहरुले पनि चाडबार्डलाई नै कमाउने मौकाको रुपमा लिने गर्दछन् । तर, सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा केही मात्रामा खसी बोका र च्यांग्रा बेचेर व्यापारीहरुको मनपरी मूल्यलाई नियन्त्रण गर्ने कोशिस गर्दै आएको छ ।

यो वर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई हजार जति खसी बोका र एक हजार बढी च्यांग्रा उपत्यकामा ल्याएर एउटा मूल्य निर्धारण गर्ने भएको छ । गत वर्षहरुमा भारत र तिब्बतबाट समेत खसी बोका र च्यांग्रा ल्याउने गरिएकोमा यो वर्ष स्वदेशी उत्पादनबाटै माग धान्ने गरी तयारी भईरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष ६ करोड ४३ लाख बजेट राखेको कम्पनीले पोहोरको दशैंमा २३ सय खसीबोका र च्यांग्रा खरिद गरेको थियो । यसपालि ३ हजार खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी विभागीय प्रबन्धक शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो ।

बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँसम्म सस्तो मूल्य निर्धारण गरी कम्पनीले खसी, बोका र च्यांग्रा बिक्री गर्दै आएको छ । जस कारण प्रतिगोटा खरिदमा तीन–चार सय रुपैयाँसम्म सस्तो पर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी विभागीय प्रबन्धक शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो ।

व्यापारीहरुले भने ५० हजार खसीबोका र १० देखि १५ हजार च्यांग्रा उपत्यका भित्र्याउने जनाएका छन् । ३५ देखि ४० किलोको खसीको मूल्य २० देखि २२ हजार पर्ने व्यापारीहरुको भनाइ छ । तर, एउटा च्यांग्राको औषत मूल्य भने ३५ देखि ४५ हजार रुपैयाँसम्म पर्ने उनीहरुको भनाइ छ ।