१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बझाङमा भूकम्पले दर्जनौ घर भत्किए,स्थानीय सडक र खुल्ला चौरमा, थप विवरण आउन बाँकी


7.046k
Shares

बझाङ । मंगलबार बझाङको चैनपुर केन्द्रविन्दु भएर गएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पले दर्जनौ घरहरुमा क्षति पुर्‍याएको छ ।

सो भूकम्प मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूककम्पले थलारा गाउँपालिका वडा नम्बर –९ सिरेटा, फकाली, खानी, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा,लगायतका ठाउमा दर्जन भन्दा बढि घर भत्किएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सिटेटामा मात्रै ४० घर पूर्ण रूपमा क्षति भएको थलारा गाउँ पालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिनु भयो । यस्तै अन्य ठाउँहरूमा समेत घर भत्किएको स्थानीयले जानकारी दिएका छन् ।

अहिले स्थानीय बासिन्दा सडक, खुल्ला चौरमा बसिरहेका प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिनु भयो । अहिले क्षतिको विवरण लिने काम भइरहेको पनि चौधरीले बताउनुभयो । कहाँ के कति क्षति भयो भन्ने खबर आएको छैन । मानवीय क्षति भएको भन्ने बारे पनि जानकारी नभएको चौधरीले बताउनुभयो ।

यसअघि आजै दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।