१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीमित स्रोतबाटै गोताखोरको तालिम दिँदै सशस्त्र प्रहरी बल


1.144k
Shares

काठमाडौं । नेपालमा हरेक वर्ष मनसुन सुरु भएसँगै बाढी पहिरोको जोखिम पनि सुरु हुन्छ । नदी किनारका बस्ती मात्रै होइन, देशका प्रमुख राजमार्ग समेत नदी किनारमै बनेकाले कुनै पनि संकट आइपर्ला भन्न सकिँदैन । त्यसका लागि देशमा पर्याप्त मात्रामा जनशक्ति भने तयार भईसकेको छैन । सशस्त्र प्रहरी बलले सीमित स्रोतका बावजुद केही वर्ष यता गोताखोर जनशक्ति तयार पार्दै आएको छ ।

नेपालमा गोताखोरको व्यवस्थापन गर्ने एक मात्र निकाय सशस्त्र प्रहरी बल हो । सशस्त्र प्रहरी बलका गोताखोरले बंगलादेशमा तालिम लिने गर्दछन् । बंगलादेशमा स्थिर पानीमा अभ्यास गरेका प्रशिक्षार्थीहरुले नेपालमा आएर भने छाङ्छाङ्गी बग्ने खोला र नदीहरुमा डुबुल्की मारेर काम गर्नुपर्दछ । त्यसमाथि गोताखोरका लागि हुनुपर्ने न्यूनतम श्रोत साधनको अभावमा उनीहरु पूर्ण क्षमता देखाउन समर्थ हुँदैनन् ।

यद्यपि प्राकृति प्रकोपबाट हुने मानवीय क्षति कम गर्न सशस्त्र प्रहरीले सातै प्रदेश, काठमाडौंको सिनामंगल, चितवनको कुरिनटारसहित देशका दश स्थानमा गोताखोरहरुलाई तयारी अवस्थामा राख्ने गरेको छ । साथै बेला बेलामा नेपालकै विभिन्न नदीहरुमा गोताखोरहरुलाई तालिम समेत दिने गरेको छ । यसै क्रममा अहिले सप्तकोशीमा नदीमा प्रशिक्षार्थीहरुलाई तालिम दिइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनी कुमार पोखरेल बताउनुहुन्छ ।

प्राकृतिक विपद्का दृष्टिले नेपाल अत्यन्तै ठूलो जोखिमको मुलुक हो । यहाँ वर्षेनी बाढी पहिरोबाट सयौंले ज्यान गुमाउने गरेका छन । तर, यस्ता विपत्तिबाट हुने क्षति कम गर्नका लागि सरकारको तयारी भने टिठलाग्दो छ । बाढी पहिरोको जोखिम वर्षेनी व्यहोर्नुपर्दछ । त्यसका लागि सशस्त्र प्रहरीको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयले तयार पार्ने जनशक्ति नै अहिलेका लागि एक मात्र भरपर्दो विपद् व्यवस्थापनका सारथी हुन् ।

हरेक वर्ष हुने जनधनको क्षति कम गर्न र तत्काल उद्धारका लागि पनि देशैभर यो खालको जनशक्ति तम्तयार अवस्थामा राख्नुपर्ने आवश्यकता छ । तर, सरकारले यसतर्फ ध्यान नदिँदा सीमित स्रोत र जनशक्तिले धान्नुपर्ने बाध्यता छ ।