
काठमाडौं । बज्रयान बौद्ध धर्मप्रतिको विदेशीको आस्था र विश्वास बढ्दो क्रममा छ । पश्चिमाहरु पनि विस्तारै पूर्विय दर्शनबाट प्रभावित भइरहेको अवस्थामा पोर्चुगलका एक क्याथोलिक बौद्ध मार्गमा लाग्दै महिला सशक्तिकरणलाई आफ्नो जीवनको लक्ष्य बनाइरहेका छन् ।
बज्रयान बौद्ध धर्मको केन्द्रको रुपमा रहेको नेपाल मण्डल प्राचिनकालदेखि विभिन्न महासिद्धहरुको कर्म भूमि रहँदै आएको छ । शून्यवादी दर्शन तन्त्रयान र बज्रयानले अहिले विश्वका तेस्रो देशहरुमा समेत प्रभाव पार्न थालेको छ । परिणाम स्वरुप कट्टर क्याथोलिकहरु समेत बज्रयान मार्गमा आईरहेका छन् । त्यस मध्येकी एक हुन पोर्चुगलको क्याथोलिक परिवारमा हुर्केकी डा. सोनिया गोम्स ।
बजार र सञ्चारमा विद्यावारिधी गरेकी उनले भौतिक र आध्यात्मिक होलिष्टिक मनोविज्ञानमा स्नातोकोत्तर समेत गरेकी छिन् । सन् २००७ मा श्रीलंकाको भम्रणका क्रममा थेरवाद बौद्धधर्म र ध्यानबाट प्रभावित भएपछि उनी बौद्ध मार्गमा प्रवेश गर्ने निर्णय गरिन । पछि बज्रयान बौद्ध धर्मको अध्ययन गरी दिक्षित समेत भएकी उनी अहिले तन्त्रयान र बज्रयानको विज्ञ नै बनेकी छिन् ।
नेपाल बसाँइको क्रममा धर्मको अभ्यास र सामाजिक सेवामा पनि व्यस्त छिन् सोनिया । खास्ति बौद्ध स्थित शेचेन गुम्बामा आफना मूलगुरु दिल्गो खेंत्से रिन्पोछेको मूर्ति रहेको कोठामा असिम आनन्द भएको भन्दै उनी भावविह्ल समेत भइन् । नित्य तन्त्र अभ्यास गर्दे आएकी सोनियाले वज्रयान बोद्धिचित्त प्राप्त गर्ने दुतमार्ग भएको र गहिरो अभ्यास आवश्यक भएको अनुभव सुनाइन् । तन्त्रलाई यौनसँग मात्रै जोडेर हेर्ने गरेकोमा दुःख व्यक्त गर्दै उनले तन्त्र यौनिकता भन्दा माथिको चित्तको प्रकृती शून्यबाद भएको बताइन् ।
योग साधक समेत रहेकी सोनिया नेपालमा बालबालिका तथा महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य र लैंगिक समानतामा पनि काम गर्दैछन् । उनी भन्छिन्– स्त्री शक्ति बिना बज्रयान र तन्त्रयान अधुरो छ । अन्य धमावलम्विहरु पनि स्वस्फूर्त रुपमा सनातनदेखि चल्दै आएको मार्गमा प्रवेश गर्छन भने त्यो सुखद् पक्ष हो । तर, नेपालको मौलिक सभ्यता तथा धर्म संस्कृतिलाई बचाउने हो भने नेपालीहरु नै धर्म अनुशासनमा बस्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्