
काठमाडौं । प्यालेस्टाइन बिद्रोही समूह हमासले इजरायलमाथि गरेको पछिल्लो आक्रमणमा हालसम्म इजरायलका एक हजार बढी नागरिक मारिएका छन् भने हमासतर्फ १२ सय भन्दाबढी मारिएको विवरण सार्वजनिक भएको छ । हमासले निरन्तर आक्रमण जारी राखेको र इजरायल पनि उसैगरी आक्रामक बनेको युद्धमा कुनै पनि पक्षसँग सम्बद्ध नरहेका करिब दर्जनौं विदेशी नागरिक मारिएको प्रारम्भिक अनुमान छ । हालसम्म प्राप्त तथ्यांक अनुसार पछिल्लो आक्रमणमा मारिनेमा इजरायली र प्यालेस्टिनीबाहेक नेपालसहित २० मुलुकका नागरिक रहेका छन् ।
गत शनिबार बिहानै प्यालेस्टाइनी अतिवादी समूह हमासले अचानक इजरायलमाथि गाजाबाट आक्रमण भयो । सयौंको संख्यामा हमासका लडाकुहरु इजरायल र प्यालेस्टाइनबीचको पर्खाल तोडेर, इजरायलभित्र घुसे । त्यति मात्र होइन, प्याराग्लाइडिङ गर्दै आकाशबाट र डुंगाहरूको प्रयोग गरेर समुद्री मार्गमार्फत इजरायलका विभिन्न सहरहरूमा घुसेर आक्रमण गरे । उनीहरुले ५ हजार बढी रकेट प्रहार गरे । घर-घरमा प्रवेश गरी केहीको हत्या त केहीको अपहरण गरियो ।
इजरायली सेना प्रतिकारमा उत्रंदा इजरायलमा रहेका इजरायली नागरिक मात्र नभई हजारौं विदेश नागरिकरुहरुबीच भागदौड मच्चियो । अध्ययन र राजेगारीका सिलसिलामा इजरायलमा रहेका हजारौं विदेशी नागरिक एवम पर्यटकहरु समेत युद्धको शिकार बन्न पुगे । सो आक्रमणमा नेपालका १० विद्यार्थी अनाहकमा मृत्युको मुखमा पुगे भने थाइल्याण्डका १२ नागरिकले पनि ज्यान गुमाए । ११ जना थाइ नागरिकलाई हमासले बन्धक बनायो ।
सोही घटनामा ११ अमेरिकी नागरिकको ज्यान गयो भने दर्जनौं अपहरणमा परेको आशंका गरिएको छ । सोही घटनामा ७ जना अर्जेन्टिनी नागरिक मारिएको अर्जेन्टिना सरकारले पुष्टी गरेको छ भने १५ जनाको अवस्था अज्ञात छ । हमासको आक्रमणको शिकार फ्रान्सेली नागरिक पनि बनेका छन । फ्रान्सका २ जना नागरिकको शव फेला परेको भने १४ जना हराइरहेका छन् ।
त्यस्तै, २ जना युक्रेनी महिला हमासको आक्रमणमा मारिएका छन् । एक रसियाली नागरिक मारिएको र ४ जना हराइरहेको तेल अभिभस्थित रूसी दूतावासले जनाएको छ । बेलायत, रुस, क्यानाडा र कम्बोडियाका एक एक जना नागरिक पनि युद्धको शिकार बनेका छन् । फिलिपिन्सको विदेश मन्त्रालयका अनुसार ७ जना नागरिक हराइरहेका छन् । त्यसैगरी अस्ट्रिया र ब्राजिलका ३/३ जना, चिली, कोलम्बिया, इटाली, पाराग्वे, पेरु र तान्जानियाका २/२ जना नागरिक हराइरहेका छन् । त्यसैगरी आयरल्यान्ड र पनामाका १/१ नागरिक हराइरहेका छन् ।
आक्रमण जारी रहेको र पुरै तथ्य बाहिर आइनसकेको कारण यो तथ्यांक अझै बढ्ने संभावना छ ।
प्रतिक्रिया दिनुहोस्