१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ बसपार्कमा अग्रिम टिकट काट्नेको भीड, छैन व्यवस्थित


104
Shares

काठमाडौं । वर्ष दिनको पर्व बडादशैं मनाउन जन्मथलो जानेहरुको चिन्ताको विषय बन्ने गरेको छ, यातायातको साधन । रोजगारीका लागि होस् वा व्यापार, अध्ययनका लागि राजधानीमा बस्नेहरु दशैं मनाउन जन्मथलो जानैपर्ने बाध्यता एकातिर छ भने यही समयमा टिकट नपाउँदा हैरानी अर्कोतिर छ ।

काठमाडौंको नयाँ बसपार्कमा अग्रिम टिकट लिनेहरुको भीडले दशैंको महत्व स्वतः झल्किन्छ । राजधानीको बसपार्क आसपासको क्षेत्रमा आआफना जन्मथलो जानका लागि टिकट लिनेको चटारो अनि अलमलमा परेकाहरुलाई तानातान गर्ने प्रवत्ती कुनै नौलो होइन् ।

असोज २१ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेपछि बसपार्क पुगेका जो कोही पनि एकछिन अलमल पर्ने वित्तिकै घेराउमा पर्ने गर्दछन् । अनि घेरिएपछि बाध्य हुन्छन् घेरा हाल्नेहरुको काउन्टरतर्फ लाग्न । बसपार्कमा यात्रुहरुको सहजताका जिल्ला जिल्ला छट्याएर टिकट काउन्टर त राखिएका छन् तर, पनि किन यात्रुलाई तानातान गरिन्छ त । दशैंको लागि अग्रिम टिकट र भोलिको लागि टिकट काट्ने ठाउँमै अलमल परेकोले सहजताको लागि स्थान चिनाइदिएको चालक र सहचालक बताउछन् ।

टिकटका लागि भौंतारिने यात्रुहरु भने बसपार्कमा वर्षेनी बिचौलियाको हैरानी व्यहर्नुपर्ने गुनासो गर्छन ।

बिहान झिसमिसेमा लाइन लाग्न जानेहरुले भन्दा पहुँचका आधारमा टिकट दिने गर्दा घण्टौं लाइन बस्नेहरु निराश हुने गरेका छन् । टिकट काट्ने यात्रुको लागि कुनै पनि सहजकता नभएको यात्रुहरु गुनासो गर्दछन् ।

सरकारले हरेक वर्ष दशैं सुरु हुन लागेपछि सरोकारवालाहरुसँग छलफल गरेर अग्रिम टिकट बुकिङलाई व्यवस्थित बनाउने, अनुगमन गर्ने, बिचौलिया नियन्त्रण गर्ने निर्णय गर्ने गर्दछ । तर, यस्ता निर्णयहरु फगत हल्ला मात्रै सावित हुने गरेको छ । सर्वसाधारणले भने वर्षेनी उस्तै सास्ती व्यहोर्नु परिरहेको छ ।