२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘स्मार्ट कार्ड’ नहुँदा ‘सवारी चालक अनुमति-पत्र’ वितरण रोकियो


2.262k
Shares

काठमाडौं । सवारी चालक अनुमति पत्र वितरण रोकिएको महिनौ भईसक्यो । स्मार्ट कार्डको अभावमा रोकिएको चालक अनुमतिपत्र वितरण अत्यावश्यक पर्नेहरुलाई मात्रै दिने गरिएको छ । यातायात व्यवस्था विभाग भने अब छिट्टै कार्ड वितरण सुचारु हुने दाबी गर्न छाड्दैन ।

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स कार्ड खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र कार्ड आइपुगेलगत्तै अहिलेको समस्या समाधान हुने दाबी गरिरहेको छ । तर अझै कति समय पर्खिनुपर्छ भन्ने यकित जवाफ भने विभागका अधिकारीहरुसँग पनि छैन । पाँच देखि छ महिनामा कार्डको सहजता हुने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरी दत्त पनेरु बताउनुहुन्छ ।

चालक अनुमतिपत्र छाप्ने कार्ड सकिएको भन्दै विभागले आकस्मिक आवश्यकताका लागि मात्रै दैनिक तीन सय ५० कार्ड वितरण गर्दै आएको छ । अब पहिलो खेपमा छ लाख कार्ड आउने र दोस्रो खेपमा पनि अर्को छ लाख कार्ड खरिदका लागि प्रक्रिया अघि बढाइएको यातायात व्यवस्था विभागका प्रवक्ता पनेरु बताउनुहुन्छ ।

सरकारले सेवाग्राहीलाई सजिलो रुपमा सेवा दिन ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेको भए पनि सेवा व्यवस्थित बनाउन नसक्दा सेवाग्राहीले सास्ती भोग्नु पर्दै आएको छ ।

कहिले उपकरण वा सामग्री खरिदका कारण त कहिले कार्ड अभावको कारण देखाउँदै सवारी चालक अनुमतिपत्र वितरण पटक पटक अवरुद्ध हुँदै आएको छ ।