
काठमाडौं । हरेक वर्ष झै यो वर्ष पनि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खसी बोका बिक्री वितरण सुरु गरेको छ । केही उपभोक्ता थोरै भएपनि सहुलियत दर अनि स्वास्थ्य पनि परीक्षण गरिएका खसीबोका पाइने विश्वासमा खाद्यको खसी किन्न पुगेका पाइयो भने केहीले मूल्यमा खासै भिन्नता नभएको अनुभव सुनाए ।
नेपालीहरुको महान चाड दशैंका बेला खसीबोका, च्यांग्राको माग अत्यधिक हुने गर्दछ । अत्यधिक खपत हुने समयमा बजारको मागमा केही भरथेग होस् र मूल्य नियमनमा पनि सहयोग पुर्याउने उद्देश्यका साथ सरकारी संस्था खाद्य व्यापार कम्पनीले पनि खसीबोका ल्याएर बिक्री गर्दै आएको छ ।
कम्पनीले यस वर्ष जिउँदो खसीको बिक्री मूल्य प्रतिकेजी ६ सय ७० र च्याँग्राको मूल्य १२ सय ५० तोकेको छ । बजार मूल्यको तुलनामा किलोमा १० रुपैयाँ छुट दिइएको खाद्यको दाबी छ । खसीबोका खरिदका लागि थापाथलीस्थित कार्यालयमा उपभोक्ताको घुइँचो लागेको छ । छानी छानी स्वस्थ खसी किन्न पाउँदा खुसी लागेको उपभोक्ता बताउँछन् । छानी छानी खसी किन्न पाउँदा खुसी लागेको बिनय खड्का बताउनुहुन्छ । त्यस्तै, कृष्ण कुमारी दाहालले खाद्यबाट लोकल र सानो खसी किन्न पाएको बताउनुहुन्छ ।
चाडबार्डका बेला हरेक वस्तु्मा भएको मूल्यवृद्धिले पीरोलिएका जयराम लामिछाने बजारमा बिक्री भैरहेका च्याँग्राको तुलनामा यहाँ मूल्य केही सस्तो लागेकाले खरिदका लागि आएको बताउनुहुन्छ । त्यसो त मारकाटप्रति उती सन्तुष्ट नरहेका मदन थापा मगर आफ्नो क्षमताले नभ्याएतापनि च्याँग्रा किन बाध्य भएको बताउनुहुन्छ ।
दशैंका लागि हिमाली जिल्ला रसुवाबाट खाद्यका लागि एक हजार च्याँग्रा बिक्री गर्ने लक्ष्य राखेर आएका व्यापारी सुरेश तामाङ बजार भाउ नभएका कारण सरकारलाई सस्तो मूल्यमा च्याँग्रा बिक्री गरेको बताउनुहुन्छ ।
कम्पनीले यो वर्ष २ हजार खसीबोका र १ हजार च्यांग्रा बिक्री गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्