२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वर्षभरि हुने कारोबारको एक तिहाई दशैंमा


1.092k
Shares

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैंको साँस्कृतिक मात्रै नभएर यो पर्वको आर्थिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छ । दशैंमा हुने किनमेल करोडौंमा होइन कि अर्बौंमा हुने गरेको छ । वर्षभरि हुने कारोबारको करिब एक तिहाई कारोबार दशैं र तिहारमा मात्रै हुने गर्दछ ।

अर्थतन्त्रको स्वरुप र आयआर्जनको दायरा फराकिलो भएसँगै बडादशैं बजारको अभिन्न अंग बन्न पुगेको छ । दशैंको व्यापारले वर्षभरीको व्यापार चक्रलाई भरपोषण गर्ने गरेको छ । पहिले पहिले वर्षभरि दशैंका लागि भनेर जोहो गरिने वस्तु अहिले सधैंभरी सहज रुपमा उपलब्ध हुन्छ ।

पछिल्लो समय विप्रेषण आप्रवाहको अवस्थामा सुधार हुदै आवश्यक वस्तु मात्र होइन बिलासी र मनोरञ्जनका साधनमा पनि आम मानिसले प्रशस्तै पैसा खर्च गर्ने गरेको पाइन्छ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मात्रै दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको छ । त्यसो त चडबार्डमा विप्रेषणको दर अन्य समयको तुलनामा बढ्ने गरेको छ । दशैंमा अतिरिक्त आय र वर्षभरीको संचित धनको समेत उपभोग हुने गरेको छ । यस्तो आँकडा २० प्रतिशत बढी रहेको छ ।

दशैं तिहारमा विभिन्न किसिमका आकर्षक योजना र छुटले पनि बजारमा रौनक ल्याउने गर्दछ । यस्तै, दशैंमा मानिसहरुको ओहोर दोहोर बढ्ने र शहरको पैसा पनि गाउँमा पुग्ने गर्दा पनि यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्धत पुर्याउने गरेको छ । यस्तै, दशैंमा लामो बिदा पर्ने हुँदा सपरिवार घुम्न निस्कने संस्कृतिले पनि अर्थतन्त्र चलायमान बनाउने गरेको छ । यद्यपी चाडबार्डमै पनि बढी खर्च गर्ने युवाहरुको ठूलो संख्या देश बाहिर हुँदा केही वर्ष यता खर्चको साइज पनि घटिरहेको राष्ट्र बैकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठ बताउनुहुन्छ ।

दशैं हुनेखानेले मात्रै होइन कि हुँदा खानेले पनि भव्यताका साथ मनाउने चलन छ । नयाँ नाना, नयाँ नोट र पर्वको उमङ्गले अर्थतन्त्रलाई केहि चलायमान त बनाउला तर अर्थतन्त्रलाई दिगो रुपमा सक्रिय बनाउन चाहीँ सरकाका नीति तथा राष्ट्र बैंकको मौद्रिक नीति नै अनुकूल हुनुपर्दछ ।