
काठमाडौं । दशैंको बिदा सकिएर सरकारी कार्यालयहरु खुले पनि सिंहदरबार सुनसान रहेको छ । दशैं मनाउन जिल्ला गएका मन्त्री, नेता र कर्मचारीहरु दशैंको बिदा सकिए पनि सिंहदरबार नफर्किएको कारण कार्यालय खाली खाली देखिए भने सेवाग्राहीको चहलपहल पनि देखिएन ।
नेपालीहरुको महान चाड बडा दशैंका लागि फूलपातीदेखि द्वादशी अर्थात यही कार्तिक ४ गतेदेखि ९ गतेसम्म सरकारी कार्यालयहरु बन्द रहे । सरकारी क्यालेण्डर अनुसार कार्तिक १० गतेदेखि सबै कार्यालयहरु खुलेका छन् । जनजीवन सामान्य भएको छ । तर, व्यवहारमा अझै पनि दशैं सकिएको छैन । कार्यालय खुले भने काम भएको छैन ।
दशैंपछिको सिंहदरबार अवलोकन गर्न शुक्रबार दिउँसो इमेजको टोली सिहंदरबार पुग्दा अधिकांश मन्त्रालयमा मन्त्रीहरु भेटिएनन् । मन्त्रालयको प्रशासनिक नेतृत्व, अधिकारीहरुका कार्यकक्षदेखि रिसेप्नसम्म अधिकांश कुर्सीहरु खाली भेटिए । अधिकांश मन्त्रालयको कार्यकक्षको नेमप्लेटमा बाहिर लेखिएको भेटियो ।
त्यसो त कुनै कुनै मन्त्रालयहरुमा भने एकाध कर्मचारी देखिए पनि । तर, काममा भन्दा आफनै धुनमा रहेका । कतिपय कार्यालयको नेमप्लेटमा भित्र भन्ने लेखिएता पनि कर्मचारीहरुका कुर्सी भने खाली नै थिए । त्यसो त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुग्दा भने मन्त्री प्रकाश ज्वालालाई कार्यकक्षमा भेटिनुभयो । दशैंको टीका सकेर कार्यालय समयमै पुग्नुपर्ने मान्यता अनुसार मन्त्री ज्वाला हतारमा आइपुगेको जस्तो देखिनुभयो ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले भने आफू समयमै कार्यकक्षमा उपस्थित भएको बताउनुभयो । मन्त्रालयका अन्य कर्मचारीहरु उपस्थित नदेखिदा मन्त्री श्रेष्ठले टाढा टाढा घर जानुपर्ने भएकाले फर्कन यातायातको समस्याले कार्यालयमा उपस्थित हुन नसकेको बताउनुभयो ।
दशैंपछिको पहिलो दिन सुनसान देखिएको सिंहदरबार र अन्य सरकारी कार्यालयहरुमा अब आइतबारदेखि कस्तो देखिने हो, त्यो हेर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्