२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


पाल्पामा औद्योगिक ग्राम निर्माणमा ढिलासुस्ती


78
Shares

पाल्पा । एक पालिका एक औद्योगिक ग्राम निर्माण गर्ने सरकारको घोषणा अनुसार पाल्पामा काम हुन सकेको छैन ।

पाल्पाका विभिन्न स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने भनिए पनि काममा ढिलासुस्ती हुँदै आएको छ ।

पाल्पाको तानसेन र रामपुर नगरपालिकामा औद्योगिक ग्राम निर्माणमा ढिला सुस्ती भएको छ भने माथागढी र रिब्दीकोटमा औद्योगिक ग्राम निर्माणको काम हालसम्म शुरु हुन सकेको छैन ।

चार वर्षअघि तानसेन कुनसरेमा १ सय १ रोपनी जग्गामा औद्योगिक ग्राम निर्माणको कामलाई अगाडि बढाएको भएपनि नगरपालिका अहिलेसम्म पहिलो चरणको काममै अलमलिएको छ ।

औद्योगिक ग्राम निर्माणको घेरावन्दीको काम भएपनि अन्य कामहरुको प्रगती भने शुन्य रहेको स्थानीयको गुनासो छ ।

औद्योगिक ग्राम बनाउने भन्दै रुख कटानको काम तीव्र गतिमा भयो तर रुख काटेपछि औद्योेगिक ग्राम निर्माणको काम कछुवा गतिमा भएको छ ।

औद्योगिक ग्रामको काम सुरु गरेको चार वर्ष भयो तर अहिलेसम्म सम्झौता अनुसारको काम नभएको स्थानीयको भनाइ छ ।

यता औद्योगिक ग्राम निर्माणको काम आर्थिक अभावले ढिलाई भएको तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकाले सात करोड बढीको औद्योगिक ग्राम निर्माण गर्ने विस्तृत योजना बनाएको छ ।

चालु आर्थिक वर्षमा ५६ लाख बजेट विनियोजन भएको र अन्य कामहरु अगाडी बढाउने तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताउनु भयो ।

तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा सरकारबाट औद्योगिक ग्राम निर्माणका लागि ९२ लाख रुपियाँ बजेट प्राप्त भएपछि टेण्डरबाट ५७ लाख ८३ हजार ८ सय रुपैया ठेक्का सम्झौता गरेको थियो ।

पहिलो चरणको कामका लागि निर्माण व्यबसायीले २०७८ श्रावण १ गते सम्झौता गरी २०७९ असार १५ गते काम सम्पन्न गर्ने सम्झौता गरेपनि हालसम्म पुरा काम सकेको छैन ।

पालिकाभित्रका संचालित उद्योग र संभावित उद्योगहरुलाई एकै स्थानमा राखी सरकारले उद्योगलाई चाहिने आवश्यक बिजुली, पानी, सञ्चार, सुरक्षा, कच्चा पदार्थ र रोजगारी एकै स्थानमा लगानी गर्न सहज र सजिलो होस भनी यो अभियान शुरु गरेपनि संघीय सरकारबाटै यस्ता योजना विनियोजन नगरेकाले अलपत्र परेका हुन ।