
काठमाडौं । राजधानीका सडकमा जीवन बिताउने बालबालिकाहरुको उद्धारको काम पुनः सुरु गरिएको छ । घर छाडेर सडकमा बेवारिसे जीवन बिताउने बालबालिकाको उद्धार कार्य उत्तिकै चुनौतिपूर्ण पनि रहने गरेको छ ।
सडक बालबालिक र सडकमा मागेर जीवन गुजार्ने बालबालिहरुको उद्धार गरिएको छ । उद्धारका क्रममा हरेक बालबालिकाले रोइकराई गर्नुका साथै तथानाम गाली गर्ने गरेका छन् उद्धार टोलीलाई । बालबालिका खोजतलास समन्वय केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को समन्वयमा सडकबालबालिका मुक्त गर्ने अभियान बिगत ४ वर्षदेखि चल्दै आएको छ । कोरोनाका कारण केही समय स्थगित गरिएको अभियानलाई पुनः निरन्तरता दिन थालिएको छ । अबको उद्देश्य सडक बालबालिकामुक्त समाज निर्माण गर्ने रहेको नेपाल बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँ बताउनुहुन्छ ।
उद्धार टोलीलाई स्थिती नियन्त्रणमा राखेर उद्धार कार्य गर्नु निकै चुनौतिपूर्ण बन्ने गरेको छ । तर, चुनौतीका बीच सडक बालबालिकाको भविष्यका लागि अर्थात सडकमा भोकै रात बिताउन नपरोस भनि बालबालिका खोज तलास समन्वय केन्द्रले सुधारगृहका सदस्यहरुको सहयोगमा उद्धार गर्ने गरेका छन् ।
राजधानीका ठमेल, नयाँ बसपार्क, बसन्तपुर, पशुपति र रत्नपार्क लगाएका क्षेत्रमा रहने अधिकांश बालबालिका उद्धारका क्रममा नशामा रहने गरेको पाइएको छ । त्यसो त यस्ता बालबालिकाहरु आफ्ना अभिभावकको निर्देशन अनुसार सडकमा माग्दै हिड्ने वा सवारीजामका बेला हात फैलाउने गर्दछन् ।
दिनभर सडकमा माग्ने यिनीहरुले रात भने सडक पेटी, सडकका कुना काप्चा, बेबारिसे घर टहरा, मन्दिर परिसरमा बिताउने गर्दछन् । सरकारले यस्ता बालबालिकाका लागि केही रकम उपलब्ध गराउँदै आएको छ भने उद्धार गरिएकाहरु पुनः सडकमै नफर्किउन् भनेर वृत्ति विकासको तालिम पनि दिने गरिन्छ ।
बालबालिकाको उद्धारमा सक्रिय संस्थाहरुको निरन्तरको प्रयास सफल भए कुनै पनि बालबालिका सडकमा जीवन बिताउन बाध्य नहुने मात्रै होइन शहर पनि सडक बालबालिका मुक्त हुने हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्