१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ढकमक्क फुलेका फूलहरुले तिहारको स्वागत गर्दै


234
Shares

इलाम । इलाममा ढकमक्क फुलेका सयपत्री फूलहरुले तिहारलाई स्वागत गरिरहेका छन् । उज्यालोको पर्व तिहारमा सबैभन्दा बढी प्रयोग हुने सयपत्री फूलको इलाममा व्यवसायीक खेती हुन थालेको छ ।

जब सयपत्री ढकमक्क हुन्छ, तिहारको झल्को आइहाल्छ । तिहार पर्वमा माला उनेर लगाइने सयपत्री फूल विशेष गरि कार्तिक महिनामा फुल्ने गर्दछ ।

तिहारमा दिदी वहिनीहरुले दाजुभाइलाई टीका लगाएर सयपत्री फूलबाट तयार गरिएको माला लगाइदिने गर्दछन् । पछिल्ला केही वर्षयता इलाममा व्यवसायिकरुपमा सयपत्री फूलखेती हुनेक्रम बढ्दै गएको छ ।

पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फुल्ने सयपत्री फूल रोपेको ८० देखि ९० दिनमा फुल्ने गर्छ । सौन्दर्य र सुगन्धित सयपत्री फूलका अनेकन विशेषता छन् ।

तिहारमा पूजाआजा गर्न, घर सजावट गर्न र भाइटीकामा दाजुभाइका लागि माला बनाउन सयपत्री फूलको प्रयोग हुने गर्दछ । तर यसपटक भने फूलको माग बजारमा नभएको फुलखेती गर्ने इलाम गोदकका किसान मनबिर थापाले बताउनुभयो ।

लक्ष्मी पुजा गरिसकेपछि साँझमा चेलिबेटीहरुले खेल्ने भैलो र गोवर्धन पुजाको दिन पुरुषहरुले खेल्ने देउसीमा पनि सयपत्री फुलको नाम लिइन्छ । प्रकाश नेपाल

छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षणसमेत बढ्दै गएको हो । बाह्रै महिना फुल्ने भएपनि तिहारमा सयपत्री फूलको विशेष महत्व रहने गर्छ ।

तिहारका वेला बजारमा बनाइएका मालाभन्दा आफ्नै घरमा फुलेका, आफ्नै हातले टिपेर–गाँसेर बनाएका माला दाजुभाइलाई लगाइदिँदाको खुशी छुट्टै हुने गर्दछ ।

तिहारलाई फूलहरुको पर्वका साथै दिदीबहिनी र दाजुभाइको सम्बन्धलाई मजबुत बनाउने चाडको रुपमा समेत लिने गरिन्छ । तिहारमा विशेष गरि साथीभाइ जम्मा भएर मिलिजुली देउसी भैलो खेल्दै रमाइलो गरि मनाउने पर्व भएकाले पनि तिहारको रौनक बेग्लै हुने गर्दछ ।