
काठमाडौं । सांस्कृतिक दृष्टिकोणले भिन्नै महत्व बोक्दै आएको ढाका टोपीले महान पर्व दशैं तथा तिहारमा छुटै महत्व राखेको हुन्छ । तिहारमा भाईटिकाको दिन दाजुभाईको शिर खाली राख्नु हुँदैन भन्ने मान्यता अनुसार तिहारको दिन चेलीले उपहार अन्तर्गत टोपीको विशेष महत्व रहेको छ । ढाका टोपीलाई नेपालीको आस्था र स्वाभिमानिको प्रतिक पनि मानिन्छ । त्यसैले अन्य समयभन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गरेकोछ ।
तिहारमा ढाका टोपीको विशेष महत्व र अर्थ रहेको छ । गलामा सयपत्रि र मखमलीको माला अनि निधारमा सप्तरंगी टिका र शिरमा ढाका टोपीले हरेक दाजुभाईलाई दिदीबहिनीले सजाउने गर्छन् । ढाका टोपी लगाउँदा माईतिको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाईलाई उपहारको रुपमा स्नेह पूर्वक ढाका टोपी दिने प्रचलन छ । तर, हरेक क्षेत्रमा परेको आर्थिक मन्दीको प्रभाव टोपी व्यवसायमा पनि परेको छ । तर यसप्रति युवा प्रतिको आकर्षण भने बढ्दै गएको छ ।
टोपी विभिन्न प्रकारको भएपनि पूर्वेली र पश्चिमेली टोपीको बढी प्रयोगमा आउने गरेको छ । भाईटिकामा माईतीको शिर खाली राख्नुहुँदैन भन्ने परम्परागत संस्कृति भएकाले नेपालीको पहिचान बोकेको टोपी माईतीलाई लगाइदिन किनेको ग्राहकहरु बताउछन् । तर, अन्य समय भन्दा चाडपर्वको बेला महँगो भएको उनीहरुको गुनासो छ ।
ढाका टोपीको मूल्य बढेको कमला न्यौपाने बताउनुहुन्छ । त्यस्तै, अनिशा राईले संस्कृति जोगाउन दाजुभाईलाई तिहारमा ढाकाको टोपी लगाइदिने गरेको बताउनुहुन्छ ।
ढाका टोपीप्रति हाम्रो भावनात्मक सम्बन्ध भएकै कारण राष्ट्रिय पोसाकको रुपमा समेत स्थापित छ । ढाकाटोपीको चुच्चो परेको माथिको भागले हिमाली भेग, विचको भिरालो भागले पहाड र तलको भागले समथर भाग तराईलार्ई चिनिने गरेको समेत मान्यता रहेको छ । युवा समूहले त केही वर्षदेखि नेपाली टोपी दिवस नै मनाउन थालेका छन् । पछिल्लो समय नयाँ पुस्ताले पनि ढाका टोपी प्रयोग गर्ने प्रचलन बढेकाले पनि व्यापारमा वृद्धि हुँदै गएको छ । यो समयमा टोपीको मूल्य महँगो भएको ग्राहकको प्रतिक्रिया वाबजुत पनि अन्य समयमा भन्दा ढाका टोपीको व्यापार तिहारमा वृद्धि भएको व्यवसायीको भनाई छ । टोपीको मूल्य महँगो भएकाले बिक्री कम भएको व्यापारी अश्मि रिजाल बताउनुहुन्छ ।
सांस्कृतिक दृष्टिकोणले भिन्नै महत्व बोकेको ढाका टोपी सरकारी कार्यालयमा होस या कुनै सभासमारोहमा यसको प्रयोग हुँदै आइरहेको छ । अझ तिहारमा दाजुभाईको शिर उच्च रहोस् भन्ने प्रतिकात्मक सन्देशसहित ढाका टोपीको उपहारले यसको महत्व अझै बढ्दै गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्