२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

झिनियाँ रोटीको व्यापार फस्टाउँदै, घरमै बसी रोजगारी


338
Shares

पाल्पा । पाल्पामा झिनियाँ रोटीको व्यापार बढ्दै गएको छ । रोटीको परिकारको रुपमा चिनिँदै आएको झिनियाँ रोटीले तिहारमा नेपालीलाई लोभ्याएको छ ।

तिहारमा तानसेनमा बनेको झिनियाँ रोटी देशभरी लोकप्रिय बन्दै गएको छ । तानसेनको गल्ली गल्ली चोक चोकमा झिनियाँ रोटीले ढाकेको छ । सदरमुकाम तानसेनमा झिनियाँ रोटी खरिद विक्री गर्नेहरुको भीड बढेको हो ।

तानसेन बजारमा सवैजसो पसलमा विभिन्न रङ्गी बिरङ्गी झिनियाँ रोटी राखिएका छन् । नेवारी समुदायमा मात्र बढी चलन चल्तीमा रहेको झिनियाँ टोटी आजकल अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । हेर्दा पनि राम्रो, रङ्गी बिरङ्गी, पकाउन पनि सजिलो, सबैले रुचाउने भएकाले तिहारमा झिनियाँ रोटी पकाउँदै आएको तानसेनकी सुशिला विश्वकर्माले बताउनुभयो ।

झिनियाँ रोटीको बिक्री बढ्दै गएपछि तानसेनमा रोटी बनाउने व्यापारीको व्यस्तता बढेको छ । झिनियाँ रोटी सस्तो र सबै वर्गले प्रयोग गर्न सक्ने भएकाले सबैको रोजाइमा परेको हो ।
तानसेन बजारमा एक रुपैया दर्जन देखि ५ सय रुपैयाँ दर्जनसम्मका झिनियाँ रोटी बिक्री हुँदै आएका छन् । यहाँ तीज पर्व सकिएपछि नै झिनियाँ रोटी बनाउने क्रम शुरु हुन्छ ।

झिनियाँ रोटीकै कारण तानसेनका सयौ महिलाले घरमै बसीबसी रोजगारी पाएका छन् । तिहारमा झिनियाँ रोटी अत्याधिक बिक्री हुँदै आएको झिनियाँ व्यवसायी निरमाया श्रेष्ठ बताउनुहुन्छ ।
झिनियाँ रोटीकै कारण तानसेनका करीब एक सय घरपरिवारले घरमै बसी बसी रोजगारी पाएका छन् । तानसेनको टक्सार, मखनटोल, भगवती टोल लगायतका नेवारी बस्तीमा आम्दानीको श्रोतनै झिनियाँ रोटी बनेको छ ।

झिनियाँ रोटी बनाएर एक परिवारले वार्षिक ५ लाख रुपैयासम्म आम्दानी गर्दै आएका छन् । तानसेनमा बनाएको झिनियाँ रोटी बुटवल, नारायणगढ, पोखरा, काठमाडौसम्म बिक्री हुँदै आएको छ ।