
काठमाडौं । अर्थतन्त्र शिथिल बन्दै गएको चर्चा भईरहेको बेला नेपाल राष्ट्र बैंकले अधिकांश कोणबाट अर्थतन्त्र सवल बन्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । अर्थमन्त्रालय र राष्ट्र बैंकको तथ्यांक विपरित अर्थतन्त्र भने चलायमान बन्न सकेको छैन । सरकारको प्रतिवद्धता, जनताका अपेक्षा र अर्थतन्त्रका सूचकबीच निकै ठूलो अन्तर देखिएकाले अर्थतन्त्रको दिगो उपचार आवश्यक रहेको देखाउँछ ।
केहि दिन अघि केन्द्रिय बैकले सार्वजनिक गरेको मासिक प्रतिवेदनमा मुलुक भित्रिने विप्रेषणमा अहिलेसम्मकै उच्च ३ खर्ब ६५ अर्ब ३४ करोड देखिएको छ । यो रकम गत वर्षको सोहि अवधिमा दुई खर्ब ७६ करोड थियो । यस्तै, सरकारको ढुकुटीमा विदेशी मुद्राको संचिति पनि चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ६ दशमलव ७ प्रतिशतले वृद्धि भई १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ ।
बैकिङ्ग क्षेत्रसँग रहेको यो संचितिले १ वर्षको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धन्न सक्ने राष्ट्र बैकले दाबी गर्दै आएको छ । सरकारका उच्च ओहोदामा रहेकाहरुले पनि मुलुकको अर्थतन्त्र सकरात्मक दिशामा रहेको बताउँदै आएका छन् । अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमवार पनि सञ्चारकर्मीसँग अर्थतन्त्रका सूचकहरु सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने दाबीे गर्नुभयो ।
नेतृत्वको आँखाले मुलुकलाई संवृद्ध गतिशिल देखे पनि आर्थिक गतिविधि भने चलायमान हुन सकेको छैन, अवस्था शिथिल छ । सरकारको राजस्व वृद्धि अनुपात कम छ । कार्तिक मसान्तसम्ममा ३ खर्ब ८४ अर्ब २९ लाख राजस्व उठाउने लक्ष्य राखेको सरकारले करिब २८ प्रतिशत कमी आई २ खर्ब ७६ अर्ब ६३ करोड मात्र उठाउन सक्यो । राजस्वभन्दा साधारण खर्च बढी देखिन्छ । लक्ष्य अनुरुप २ खर्ब ९८ अर्बको खर्च हुनु पर्नेमा खर्च चाहि ३ खर्ब ५५ अर्ब पुगेको छ । यस्तै, पुँजीगत खर्चको अवस्था पनि दयनीय छ । आर्थिक वर्षको चार महिना सकिँदासम्म लक्ष्यको १० प्रतिशत पनि खर्च हुन सकेको छैन । अर्थशास्त्री केशव खड्का बाह्य अर्थतन्त्र सवल बन्दै गएको हो भन्ने बुझाई नै गलत रहेको तर्क गर्नुहुन्छ ।
नेपालीहरुका ठूला चाडबार्डकै समयमा पनि मुलुकको आर्थिक गतिविधि अपेक्षा अनुरुप चलायमान बन्न सकेन । अर्थतन्त्रमा स्थीरता कायम गर्न दिन प्रतिदिन चुनौति थपिँदै गएको छ । यसैले बेलैमा निर्मम कदम नचाल्ने हो, यो ओरालो यात्रालाई सम्हाल्न निकै मुस्किले पर्ने हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्