२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपालमा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान


26
Shares

काठमाडौं । हरेक वर्ष नोभेम्बर २५ देखि विश्वब्यापी रुपमा महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियान शुरु भएको छ । यस अभियानका क्रममा नेपालमा पनि विविध कार्यक्रमहरु गरिंदैछन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाले नोभेम्बर २५ लाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तराष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेबमोजिम हरेक वर्ष नोभेम्बर २५ देखि १६ दिने अभियान संचालन गर्ने गरिएको हो । राष्ट्रिय महिला आयोगले यस अवधिमा महिला हिंसा विरुद्ध जनचेतना जगाउने विभिन्नखालका कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोेजना गरिंदैछ । अभियान सन्चालन गर्दैमा समाजमा महिला हिंसाको अन्त्य नहुने तर जनचेतना मुलक कार्यक्रम गरेर न्युनिकरण भने गर्न सकिने राष्ट्रीय महिला आयोगका आयुक्त कृष्णकुमारी खतिवडाले बताउनुभयो ।

विगतमा भन्दा नेपालमा यो वर्ष महिला हिंसामा वृद्धि भएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत बताउनुहुन्छ । उहाँका अनुसार नेपाल प्रहरीमा दर्ता भएका अपराधका मुद्दामध्ये करिब ३० प्रतिशत महिलामाथि भएका हिंसाको मुद्दा रहेको छ । यस्तै आर्थिक वर्ष २०७९÷०८० मा दर्ता भएका हिंसाका मुद्दामध्ये सबैभन्दा बढी घरेलु हिंसाका १६५१९ मुद्दा दर्ता भएका छन् । प्रदेशका हिसाबले हेर्दा महिलामाथि भएका हिंसा सबैभन्दा बढी कोशी प्रदेशमा भएको पाइएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा भएको प्रहरी प्रवक्ता कडायतले जानकारी दिनुभयो ।

महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने र आर्थिक शसक्तिकरण आवश्यक भएको महिला सरोकारवालाहरुले बताएका छन् । यसैगरी महिला हिंसा घटाउन उपचारात्मक सेवाका साथै प्रवर्धनात्मक उपाय र प्रतिबन्धात्मक उपायको पनि अनुसरण गर्नु र विद्यालय तहदेखि नै महिला हिंसा विरुद्धका चेतनामुलक कार्यक्रम समावेस गर्नु पर्नेमा पनि उनीहरुको जोड दिएका छन् । ।